२०८० चैत्र १६, शुक्रबार    

एमालेले जिते फेरि संसद् विघटन, संविधानमाथि प्रहार : डिना

२०७९ कार्तिक २९, मंगलबार १८:११ बजे

सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेकपा एमालेले जितेमा फेरि संसद् विघटन र संविधानमाथि प्रहार हुने बताएकी छिन् ।

निर्वाचन केन्द्रीत कार्यक्रम अन्तर्गत हेटौंडा ८ मा भएको घरदैलो कार्यक्रममा उनले जनमतको सम्मान गर्न नसक्ने पार्टीलाई फेरि मत दिन बेक्कार हुने बताए । जनताको अधिकारका लागि बनेको संविधान नमान्नेहरुलाई जनतासंग मत माग्ने नैतिक अधिकार समेत नभएको डिनाको भनाई थियो । मंसिर ४ को निर्वाचन संविधान पक्षधर र संविधान नमान्ने प्रतिगामीको बीचमा हुन लागेको उनले बताइन् ।

‘संविधान निर्माणको क्रममा हस्ताक्षरै नगर्ने र संविधान नमान्ने, संसद् विघटन गर्ने र सधैं जनतालाई झुटो आश्वासन, नारा दिनेहरु एक भएका छन् । संविधान पक्षधर शक्तिहरु कांग्रेसको नेतृत्वमा गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा छौं’, उनले भने, ‘मुलुकको विकास र समृद्धि चाहने हामीले प्रतिगामी तत्वसंग प्रतिस्पर्धा गरिरहेका छौं । गठबन्धनको जित सुनिश्चित छ ।’ संविधान र व्यवस्था नै नमान्ने कमल थापा र दीपक सिंहहरु अहिले जनताकोमा आएर अनेक आश्वासन र प्रलोभन दिइरहेको उनको भनाई थियो । जनताको अधिकारका लागि ल्याइएको संविधान नमान्नेहरुलाई मत हराएर ठेगान लगाउने बेला आएको उनले बताइन् ।

डिनाले आफू विजयी भए मकवानपुरका लागि राष्ट्रिय बजेट ल्याएर समृद्ध र विकसित मकवानपुर बनाउने अभियानमा लाग्ने बताइन् । समानुपातिकबाट सहजै प्राप्त सांसद् पद छोडेर प्रत्यक्ष निर्वाचनमा होमिन आएको जानकारी दिँदै उनले जनताको हर सुखदुःखमा साथौ रहने प्रतिबद्धता जनाएकी छिन् । गठबन्धन र कांग्रेसको पक्षमा माहौल देखेर विपक्षीहरु बर्बराउन थालेको उनको भनाई थियो । गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गर्दै उनले मतान्तर बढाउन र मंसिर ४ गतेसम्म कुर्न अनुरोध गरिन् ।