२०८१ जेठ ४, शुक्रबार    

पार्टीको निर्णय अन्तिम हो, नमान्नेले पार्टी छाड्दा हुन्छ : बानियाँ

२०७८ चैत्र २१, सोमबार १६:०७ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचनमा सत्तागठन्धन एक ढिक्का भएर मैदानमा उत्रिने बताएका छन् ।

कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा सोमबार भएको नगर भेलालाई सम्बोधन गर्दै बानियाँले गठबन्धन गर्ने विषयमा पार्टीमा सर्वसम्मतरुपमा निर्णय भएको र निर्णय नमान्नेले पार्टी छाड्दा हुने बताएका छन् । ‘पार्टीको निर्णय अन्तिम निर्णय हो । सोही अनुसार अगाडि बढ्नुपर्छ । गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा टिकट वितरणको निर्णय गर्नेछ । पार्टीले गरेको निर्णय नमान्ने र मतदान गर्दैनौं भन्नेहरु पार्टी छाडेर जाँदा हुन्छ ।’, बानियाँले भने ।

प्रदेश संसदीय दल नेता समेत रहेका बानियाँले पार्टीमा सधैं एउटै व्यक्तिले टिकट नपाउने दावी गरे । ‘पार्टीमा सधै एउटै व्यक्तिले टिकट पाउँदैनन् । आफूले पाए ठिक, अरुले पाए वेठिक भन्नुहुँदैन । एकपटक हार्दा वा टिकट नपाउँदैमा राजनीति सकिँदैन ।’, उनले गठबन्धनकै कारण कांग्रेस प्रदेशदेखि केन्द्रसम्म सरकारमा पुगेको स्मरण गराउँदै पार्टीको निर्देशन अनुसार मतदान गर्न आफ्नो कार्यकर्तालाई आग्रह गरे ।

नगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा भेला भएको हो ।