२०८१ बैशाख ३१, सोमबार    

मधु अधिकारीलाई अर्जुन ढुङ्गानाको ‘धम्कीपूर्ण भाषा’मा चेतावनी

२०७८ चैत्र ९, बुधबार १७:२० बजे

राप्रपा नेपालका जिल्ला अध्यक्ष अर्जुन ढुङ्गानाले ‘धम्कीपूर्ण भाषा’मा चेतावनी दिएका छन् ।

उनले राप्रपाका पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा ‘धम्कीपूर्ण भाषा’ प्रयोग गर्दै स्ट्याटस लेखेका हुन् । केहीदिन अगाडि अधिकारीले मकवानपुरमा राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाको पछाडि कोही कार्यकर्ता नरहेको अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिएका थिए । त्यसको विरोध गर्दै ढुङ्गानाले आफ्नो फेसबुकमा अधिकारीविरुद्ध स्ट्याटस लेखेका छन् ।

उनले आफ्नो फेसबुकमा राप्रपा नेपालको जिल्ला अध्यक्ष भएको बताउँदै अधिकारी समक्ष चुनौती पेश गरेका छन् । ‘मकवानपुरमा कमल थापाको पछाडि कोही छैन भन्नेहरुलाई कोही छ भनेर देखाउन नपरोस है । राप्रपा मकवानपुर अध्यक्ष म हुँ । जिल्लासमिति गठन गर्न सकेन भनेर भ्रम छर्ने ?’

राप्रपाको गत १९ मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापा राप्रपा नेपाल पार्टीको नेतृत्व गरिरहेका छन् । २५ माघमा हेटौंडा आएर राप्रपा परित्याग गरेका थापाले आफ्नो पुरानै पार्टी ब्युताउँदै राप्रपा नेपालको अध्यक्ष बनेका थिए । प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर १ बाट चुनाव लड्ने तयारी गरेका थापालाई जिल्लामा पार्टी विस्तार गर्नु अपरिहार्य छ । तर, राप्रपा मकवानपुरका पुराना नेताहरुले थापाको साथ छोडेपछि उनी संकटमा रहेको आंकलन छ ।