२०८१ बैशाख १२, बुधबार    

वाग्मती गोल्डकपले नयाँ विजेता पाउँदै

२०७९ माघ ३, मंगलबार ०८:४२ बजे

पाँचौं संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताले मंगलबार नयाँ विजेता प्राप्त गर्दै छ । वाग्मती गाउँपालिकास्थित जनता मावि खेल मैदानमा संकटा र विदेशी क्लब भुटनिज् युथ स्पोर्ट्सबीच प्रतिस्पर्धा हुँदै छ । संकटा नेपालको ‘ए’ डिभिजन टोली हो भने भुटनिज् अमेरिकन क्लब हो ।

दस दिनको अन्तरमा यी दुई टोली उपाधिका लागि दोस्रो पटक भिड्न लागेका हुन् । पोखरामा भएको आहारारा गोल्डकपमा संकटा र भुटनिज्बीच नै फाइनलमा प्रतिस्पर्धा भएको थियो, जहाँ संकटाले उपाधिमा बाजी मारेको थियो । यस अर्थमा यस फाइनल अमेरिकन क्लबका लागि बदला लिने सबैभन्दा ठूलो अवसर हुनेछ । यो प्रतियोगितासँगै विदेशी क्लब स्वदेश फर्कंदै छ ।

दुवै क्लब यस प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेका हुन् । त्यसकारण यस खेलको विजेताले प्रतियोगिताको नयाँ च्याम्पियन प्राप्त गर्नेछ । हालसम्म सिन्धुली, सरस्वती युथ, थ्रीस्टार र जावलाखेलले यो प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ र उत्कृष्ट खेलाडीले विधागत रूपमा नगद प्राप्त गर्नेछन् ।

फाइनलसम्मको यात्रा तय गर्ने क्रममा संकटाले नेपाल एपीएफ क्लब र मकवानपुर–११ लाई तथा भुटनिज्ले हिमालयन शेर्पा र जावलाखेल युथ क्बललाई पराजित गरेका थिए । हालसम्म दुवै टोलीले गोल व्यहोरेका छैनन् । संकटाको पोस्ट टिकेन्द्र थापाले र भुटनिज्को पुजन थापा मगरले सम्हालिरहेका छन् । संकटा र भुटनिज्ले विपक्षीको पोस्टमा समान कुल ३–३ गोल गरेका छन् । दुवै टोलीमा अनुभवी र अग्ला कदका खेलाडी भएका कारण उपाधि जित्ने दाबी गरिरहेका छन् । दुवै क्लब एकअर्कामा परिचित भएका कारण प्रशिक्षकले सोहीअनुसारको रणनीति बनाएर मैदानमा प्रस्तुत हुनेछन् । दुवै टोली आक्रामक फुटबलमा विश्वास राख्छन् ।

संकटाका लागि सुनील बल, आयुष घलान, स्टेफन र मेसुकेले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । भुटनिज्का फरवार्डद्वय हेक्टर, निगियोल र प्रवीण बस्नेतले दर्शकको मन जित्ने गरी खेलमा छाप छाडिरहेका छन् । लगातार विभिन्न प्रतियोगितामा सहभागी भएका कारण दुवै टोलीका खेलाडी मैदानमा थकित देखिन्छन् । खेलको अवस्था र अंकगणितलाई हेर्दा कुन टोलीले उपाधि जित्छ सहजै भन्न सकिन्न । यसका लागि रेफ्रीको अन्तिम इसारा कुर्नॅको विकल्प छैन ।