२०८१ जेठ ५, शनिबार    

सभापतिमा उम्मेदवारी घोषण गर्दै पराजुलीले भने,‘मकवानपुरलाई कांग्रेस किल्ला बनाउनेछु’

२०७८ फाल्गुन १३, शुक्रबार १७:३८ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुर सभापतिमा पूर्वसचिव आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार हेटौंडाको एभोकाडो होटलमा पत्रकार सम्मेलन गर्दै पराजुलीले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले कांग्रेसलाई मकवानपुरमा पहिलो पार्टी बनाउने, स्थानीय तहको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने र कार्यकर्ताको भावना अनुसार पार्टीलाई रुपान्तरण गर्दै अगाडि बढाउने प्रतिबद्धता जनाए ।

‘अब मकवानपुर लाल किल्ला होइन । कांग्रेस किल्ला बनाउँनेछौं ।’, उनले कांग्रेसलाई विकासको पर्यायवाची बनाउने बताए । ‘अघिल्लो स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा चुनाव हारेपछी पनि निरन्तर जनतासंगै र कार्यकर्ता माझै रहेर काम गरिरहेको छु । सभापतिमा हारें भने पनि यसरी नै लागिरहनेछु । यो पार्टीको निर्वाचन हो मेयरको कुरा ल्याइराख्न पर्दैन । कार्यकर्ताले खोजेको बेला भेटिनेछु ।’, उनले आफू सभापतिमा निर्वाचित भए नेता कार्यकर्तालाई गर्ने सम्मानमा कमी नगर्ने र कांग्रेस भएकै कारण शीर निहुराउने गतिविधि नगर्ने बताए ।

‘मकवानपुरलाई कांग्रेसमय बनाउनेछु । कांग्रेसको किल्ला बनाउन सभापतिमा उम्मेदवारी दिएको हुँ ।’, पराजुलीले विभिन्न पार्टीबाट आएकाहरुलाई नेताहरुलाई क्षमता अनुसार जिम्मेवारी दिने प्रतिबद्धता समेत जनाए । उनले पार्टीको पूर्वसभापति, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’को साथ लिएर जनताको हितमा काम गर्ने प्रतित्रबद्धता जनाए ।