२०८१ जेठ ७, सोमबार    

लायन्सको नाममा विदेशिँदै लाखौं रकम, भौतिक प्रगति न्यून

२०७८ फाल्गुन ४, बुधबार १३:२८ बजे

हेटौंडा/ समाज सेवाको विभिन्न अभिष्ट राखेर मकवानपुरमा स्थापित लायन्स क्लबहरुको अन्तर्राष्ट्रिय पहुँच न्यून देखिएको छ । सामाजिक सेवाका लागि अन्तर्राष्ट्रिय दाताहरुलाई आग्रह गरेर स्थानीय क्षेत्रको विकासका लागि मकवानपुरतर्फ आकर्षित गराउने भूमिकामा भने सीमितबाहेक लायन्सहरु प्राय: निस्क्रिय देखिएका छन् ।

लायन्स क्लबको सदस्यता नवीकरणका लागि वार्षिक कम्तिमा ५० लाख रुपैयाँ बराबरको हाराहारीमा रकम विदेशी रहेको अवस्थामा मकवानपुरमा भने सोही रकम बराबरको पनि भौतिक विकास र प्रगतिका दृश्यहरु देख्न पाइएको छैन । पछिल्लो समय समाजसेवा गर्ने उद्देश्य बोकेर मकवानपुुरमा लायन्स क्लबहरु धमाधम खुलिरहेका छन् । वर्षेनी जिल्लामा लायन्स क्लबको संख्या बढ्दो अवस्थामा पनि छ । हाल जिल्लामा ४१ वटा लायन्स क्लब रहेका छन् । लायन्स क्लबको संख्या बढेपनि समाजमा उल्लेख्य प्रभाव पार्ने र देखिने गरी कामहरु भएको भने पाइँदैन । केही वर्ष अगाडिसम्म लायन्समा लाग्नेको संख्या औंलामा गन्न सकिने अवस्थामा थियो । तर, अहिले समय फेरिएको छ ।

लायन्स क्लब स्थापना गर्न करिब २५ जना सदस्य अनिवार्य आवश्यकता पर्छ । लायन्समा आबद्ध हुने वित्तिकै प्रवेश शुल्क बुझाउनुपर्ने हुन्छ । उनीहरुले वार्षिक करिब ५ हजार रुपैयाँ नवीकरण गर्नका लागि आफूभन्दा माथिल्लो निकाय अन्तर्राष्ट्रिय लायन्सलाई पठाउनुपर्ने हुन्छ । मकवानपुरमा हालसम्म करिब १ हजार २३ जना लायन्स क्लबमा आबद्ध भइसकेका छन् । तर, कति क्रियाशील छन् भने एकीन तथ्यांक उपलब्ध छैन । उनीहरुबाट वार्षिक सदस्यता नवीकरण गर्ने बहानमा रकम विदेशीने गरेको छ । लायन्सकर्मीहरुले उक्त रकम नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा हुने र राष्ट्र बैंकको स्वीकृतिमा मात्र विदेशीने गरेको बताइरहेका छन् । नवीकरणमा मात्र यति धेरै रकम मकवानपुर जिल्लाबाट विदेशी रहेको अवस्थामा उल्लेख्य र देखिने गरी काम नहुँदा कतिपय क्लबका सदस्यहरु निस्क्रिय हुन थालेका छन् ।

‘लायन्समात्र होइन । लियो क्लबको पैसा पनि विदेशीने गरेको छ ।’, लायन्स क्लबमा आबद्ध भएका एक सदस्यले भने,‘विभिन्न सामाजिक गतिविधि, पदस्थापन तथा अन्य कार्यक्रम गरेर एउटा सदस्यको कम्तिमा वार्षिकरुपमा दशहजार रुपैयाँभन्दा बढी खर्च हुन्छ ।’, उनका अनुसार वार्षिक लायन्सकर्मीहरुले मकवानपुर जिल्लामात्र एककरोड रुपैयाँभन्दा बढी खर्च गरिरहेका हुन्छन् । तर, सोचअनुसारको देखिने र समाजमा प्रभाव पार्ने काम भने गर्न सकेको छैन ।

लायन्स क्लब निवर्तमान गभर्नर शम्भु नकर्मीका अनुसार वार्षिकरुपमा विदेशी दाताबाट ५ वटा आयोजना देशभरका लागि प्राप्त हुन्छ । ‘दाताले राम्रो प्रपोजल भएको खण्डमा स्वीकार गरेर हामीलाई बजेट उपलब्ध गराउँछन् । हेटौंडाले पनि धेरै प्रयास गरिरहेको छ । आशा गरौं । छिट्टै राम्रो प्रोजेक्ट हेटौंडामा सुरु हुनेछ ।’, उनले लायन्स क्लबमा आबद्ध भएका साथीहरु राम्रो प्रोजेक्ट तयार गरेर एकजुट भएको खण्डमा देखिने काम गर्न सकिने बताए । ‘हामीले समाजलाई प्रभाव पार्ने सानासाना कामहरु गरिरहेका छौं । कोभिडको समयमा एकजुट भएर हामीले काम गरेका थियौं ।’, उनले थपे ।