२०८१ बैशाख १४, शुक्रबार    

आर्मी मकवानपुर गोल्डकप च्याम्पियन

२०७९ जेठ ३०, सोमबार १८:४० बजे

घरेलु टोली विजय युथ क्लब हेटौैडालाई पराजित गर्दै विभागिय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा विजय युथलाई २–१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

आर्मीलाई च्याम्पियन बनाउन कप्तान भरत खवास र कमल बहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए ।

खेलको १५औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले टेक बहादुर बुढाथोकीको पासमालाई सुन्दर फिनिसको नमुना पेश गरेका थिए । त्यसको १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा बिमल रानालाई फउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी प्रदान गर्दा डोना थापा चुकेनन् ।

दोस्रो हाफको शुरुमै कमल बहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाएपनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेशले गोल गर्न सकेनन् ।

त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो । आर्मीले गत सिजन पनि च्याम्पियन बन्ने क्रममा विजय युथलाई नै पराजित गरेको थियो ।

उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयामा चित्त बुझाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार ट्रफी प्राप्त गर्नेछ ।