२०८१ जेठ ७, सोमबार    

मकवानपुरमा फेरियो राजनीतिक शक्ति सन्तुलन

२०७९ जेठ ८, आईतबार १७:०९ बजे

वाग्मती प्रदेशको राजधानी जिल्ला मकवानपुरमा राजनीतिक शक्ति सन्तुलन फेरिएको छ। आममतदाताले पार्टीको घेराभन्दा बाहिर गएर नयाँ नेतृत्व चयन गरेका छन् ।

कांग्रेस मकवानपुरमा पहिलो शक्तिको रूपमा उदाएको छ। २०७४ को स्थानीय निर्वाचनमा जम्मा २ पालिका प्रमुख र ३१ वडाध्यक्ष जितेको कांग्रेसले यसपटक ५ पालिका प्रमुख र ४ उपप्रमुसँगै ४४ वटा वडाध्यक्ष जितेको छ। यो निर्वाचनबाट एमालेलाई ठूलो धक्का पुगेको छ। हेटौंडासहित ५ पालिका प्रमुख, उप्रमुख र थप २ पालिका उपप्रमुख जितेको एमाले यसपटक २ पालिका प्रमुख र १ उपप्रमुखमा साँघुरिएको छ।

मकवानपुरको १०२ वडायक्षमध्ये ५१ वडाध्यक्ष जितेको एमालेले यसपटक ३१ वडाध्यक्षमा चित्त बुझाउनुपरेको छ। माओवादी केन्द्रले पनि आफूलाई सुधार गरेको छ। २ पालिका प्रमुख र २० वडाध्यक्ष जितेको माओवादीले यसपटक २ पालिका प्रमुख, ५ उपप्रमुख र २४ वडाध्यक्ष जितेको छ। ‘यसपटक जनताले पार्टी मात्र हेरेनन्। नयाँ व्यक्ति हेरे र साथमा युवा पुस्तालाई प्राथमिकता दिए,’ मकवानपुर बहुमुखि क्याम्पसका प्रमुख प्राध्यापक डा. शंकर उपाध्यायले भने, ‘अब जनता कसैको दलको सीमिति घेरामा मात्र बस्दैनन् भन्ने संकेत यो चुनावले दिएको छ।’ स्थानीय निर्वाचनबाट राजनीतिक शक्ति सन्तुलन बदलिएको र दलहरूले यसबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ।

मकवानपुरको राजनीतिक शक्ति सन्तुलनमा यसपटक राप्रपाले ठूलो भूमिका खेलेको छ। २०७४ को निर्वाचनमा करिब ७ हजार मत पाएको राप्रपाले यसपटक २० हजार ३३१ मत पाएको छ। विजयी उम्मेदवार लामाको भन्दा २ हजार ७४४ मत मात्र कम हो। कांग्रेस, एमालेको सांगठनिक मतसहित अन्य राजनीतिक दल आबद्ध र स्वतन्त्र मत पनि उनले पाएका छन्। ‘बदलिएको शक्ति सन्तुलनले अबको प्रदेश र संघीय निर्वाचनमा पनि प्रभाव पार्ने देखिन्छ,’ हेटौंडा–९ का बिजन्द्र अग्रवालले भने, ‘जनताले विकास र समृद्धि जनताले चाहेका छन्। निर्वाचित जनप्रतिनिधिहरूले भौतिक पूर्वाधारको विकाससँगै विकासका विविध आयमहरूलाई सम्बोधन गर्न सक्नुपर्छ।’