२०८१ बैशाख २८, शुक्रबार    

सरकारविरुद्ध युवा संघले चरणबद्धरुपमा आन्दोलन गर्ने

२०७८ माघ १३, बिहीबार १७:२८ बजे

हेटौंडा/ युवा संघ नेपालले चरणवद्धरुपमा वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ ।

युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले हेटौंडामा विहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार गलत बाटोमा अगाडि बढेका कारण सरकारविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको बताए । ‘अहिले सरकार गलत बाटोमा अगाडि बढिरहेको छ । स्थानीय तहको निर्वाचन समयमा नगर्ने र गठबन्धनको नाममा ब्रम्हलुट मच्चाउने तयारी भइरहेको छ । त्यसकारण हामी सरकार विरुद्धको आन्दोलनमा छौं ।’, उनले भने ।

उनले केही दिनभित्रमा युवा संघले सरकार विरुद्धको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने बताए । संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादबलाई पदबाट मुक्त नगरेसम्म मधेश प्रदेशमा जारी युवा संघको आन्दोलन नरोकिने उनले बताए । उनले वर्तमान सरकारलाई संविधान अनुसार स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने वातावरण तयार पार्न समेत आग्रह गरेका छन् ।

प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सञ्चारकर्मी भेटघाट कार्यक्रम भएको थियो ।