२०८१ बैशाख १४, शुक्रबार    

जनतालाई गरिवीको चपेटाबाट मुक्त गर्छाै : केन्द्रीय सदस्य राना

२०७९ भाद्र १, बुधबार १६:५८ बजे

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाले श्रमजिवी वर्गको प्रतिनिधिमूलक पार्टी नेकपा एमाले भएकोले राष्ट्रिय पूँजीको विकास गरेर जनतालाई अवसर प्रदान गर्ने बताएका छन् ।

नेकपा एमाले हेटौंडा–८ कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रानाले जनवादी शासन व्यवस्था कायम गर्ने र जनतालाई गरिवीको चपेटाबाट मुक्त गर्दै समाजवादका पुग्ने लक्ष्यका साथ नेकपा एमाले अगाडि बढिरहेको बताए ।

उनले शान्तिपूर्ण जनपरिचालनद्वारा राजनितिक जनक्रान्ति सम्पन्न भएपनि सामन्तवादका अवशेषहरू कायम रहेकोले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि जनताको समस्या र माग पूरा हुनसकेको छैन भन्दै आमुल परिर्वतनको आधार सामाजिक, आथिक र साँस्कृतिक रूपान्तरण भएको बताए ।

पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीद्वारा सञ्चालित सुदृढीकरण तथा शुद्विकरण अभियानबारे, सचिव नवीन सिग्देलले जवजको मान्यतामा पार्टी संगठन निर्माण र परिचालन, जिल्ला कमिटी सचिवालय सदस्य राजन थापा स्थानीय तह निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारी, पार्टी जिल्ला कमिटी सदस्य मिलन पाठकले पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्धबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रम वडा कमिटीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य गोपालबहादुर श्रेष्ठ, जिल्ला सचिवालय सदस्य गणेशकुमारी श्रेष्ठ, जिल्ला कमिटी सदस्य यसोदा उप्रेती, हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष शालिकराम पुडासैनी, सचिव बोलबहादुर कार्कीलगायतको उपस्थिति रहेको पार्टी वडा कमिटीका सचिव सुशीला मल्लले जानकारी दिइन् ।