२०८१ बैशाख २२, शनिबार    

नयाँ मान्छे देख्नेवित्तिकै डराउँछन् गाउँले

२०७८ फाल्गुन २०, शुक्रबार १९:३४ बजे

हेटौंडा/ मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–४, मसिनेका स्थानीय गाउँमा नौलो मान्छे देख्यो कि तर्सिन थाल्छन् । गाउँमा नयाँ गाडी र सवारी प्रवेश गर्नेवित्तिकै स्थानीय पर्सा राष्ट्रिय निकुञ्जले फेरि दु:ख दिने भयो भनेर उनीहरुमा त्रासले पिरोल्न थाल्छ । लामो समयदेखि स्थानीय र राष्ट्रिय निकुञ्जवीचको द्वन्द्वले यस्तो अवस्था सिर्जना गरेको हो ।

‘हामी गाउँलेहरु बिहान उठ्नेबित्तिकै रोडतिर हेरिरहन्छु । नयाँ मान्छे र गाडी आएको देखेपछि डर लाग्छ,’ स्थानीय नर्वदा सुवेदीले भनिन्,‘निकुञ्जबाट हतियार बोकेका आर्मी आइरहन्छन् । गाउँमा के हुन लागेको हो थाहा छैन ।’ उनका पतीलाई निकुञ्जले काठ तस्करी गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । पीडितपक्षले पुरानो घर भत्काउँदा निस्किएको काठलाई आधार बनाएर निकुञ्जले पक्राउ गर्न खोजेको आरोप लगाएका छन् । निकुञ्जले चार दिनअघि उनको पती उद्धव विष्टका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

मनहरी–४, नयााबस्तीकी रामकुमारी चेपाङले निकुञ्जको संरक्षणका लागि खटिएको नेपाली सेनाले गाउँमा आतंक मच्चाएको आरोप लगाइन् । ‘कसैले गल्ती गरे होलान्, हामी सोझासाझालाई डर भयो । गाउामा हतियार बोकेर सेनाहरू आउँछन् । हाम्रा बालबच्चा स्कुल पढ्न जान मान्दैनन्,’ उनले भनिन् ।

घाँस काट्न जाादा पनि तस्करी भनेर आर्मीले लखेट्ने गरेको उनको गुनासो छ । नयाँबस्तीकी अनुषा थिङले निकुञ्जका कारण बस्न मुस्किल परिरहेको बताएकी छन् । निकुञ्जले काठको बारेमा थाहै नपाएका विजय थिङ र विक्रम चेपाङलाई पक्राउ गरेको उनले दाबी गरिन् । सेनाले घर खानतलासी गरेर डर र त्रासमा बस्न बाध्य पारेको उनको आरोप छ । पर्सा राष्ट्रिय निकुञ्जले मसिनेस्थित मसिने–शान्तिमध्यवर्ती सामुदायिक वनमा काठ कटान गरेको आरोपमा ९ जनालाई पक्राउ गरेर हिरासतमा राखेको रेञ्जर विष्णुप्रसाद पौडेलले जानकारी दिए ।