२०८१ जेठ ५, शनिबार    

चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई उच्च अदालत हेटौंडाले गर्‍यो जन्मकैदको फैसला

२०७८ फाल्गुन ९, सोमबार १०:३२ बजे

सैनिकको यातनाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र गम्भीर घाइते भएका उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैद (२५ वर्ष) को सजाय गर्ने फैसला गरेको रजिस्ट्रार कैलाश भट्टराईले जानकारी दिए । बुढाको यातनाका कारण घाइते भएका चेपाङको ०७८ साउन ८ मा अस्पतालमा उपचार क्रममा मृत्यु भएकामा जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीले गत असार २८ मा बुढालाई ९ महिना कैद, ९ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेका थिए । त्यसविरुद्ध पीडितका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो ।

९ महिना सजाय हुने गरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए ।दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए । बर्दियाको गेरुवा गाउँपालिका–५ का बुढाको हेलचेक्र्याइँले चेपाङको ज्यान गएको जिल्ला अदालतको फैसलामा उल्लेख्य थियो । २०७७ असोज ४ मा पक्राउ परेका बुढा त्यसपछि जिल्ला अदालतको फैसला आउन्जेल ९ महिना २४ दिन थुनामा बसेका बताइएको छ ।