२०८१ बैशाख १५, शनिबार    

आगलागीबाट थाहानगरमा दुईवटा घर जलेर नष्ट

२०७९ चैत्र ३०, बिहीबार १०:२७ बजे

मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिकामा बुधबार राति दुईवटा घरमा आगलागी हुँदा करिब ३५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मध्यरातमा भएको आगलागीबाट थाहा नगरपालिका–६, चल्तीस्थित थाक्लेका कृष्ण बहादुर खत्री र राजकुमार खत्रीको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामाग्री जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कृष्णको घरमा रहेको नगद ४ लाख र राजकुमारको घरमा रहेको नगद एकलाख ५० हजार सहित कुल ३५ लाख पचासहजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कृष्णबहादुर खत्रीको पुरानो डिजाइनको ढुङ्गा माटोले बनेको २ (दुई) तले कच्ची घरमा विजुलीको तार सर्ट भई आगलागी सुरु भएको प्रहरी प्रवक्ता कार्कीले बताए । आगो बढ्न गईसंगै जोडिएर बनाइएको खत्रीका आफ्नै भाइ राजकुमार खत्रीको घरमा पनि आगलागी भएको थियो ।

इलाका प्रहरी कार्यलय पालुङका प्रहरी नायव निरीक्षक उमेशप्रसाद कोइरीको कमाण्डमा खटिएको प्रहरी स्थानीय र दमकलको सहयोगमा राति साँढे २ बजेतीर आगो निभाउँन सकिएको प्रवक्ता कार्कीले जानकारी दिए ।