२०८१ बैशाख ३०, आईतबार    

२६ वटा अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु हटाइँदै

२०७८ माघ २७, बिहीबार १०:१२ बजे

हेटौंडा/ वाग्मती प्रदेश सरकारअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु हटाइने तयारी अगाडि बढेको छ ।

माघ १८ मा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेशअन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने तयारीस्वरुप स्पष्टिकरण सोधिसकिएको छ । वाग्मती प्रदेशका स्वास्थ्य सचिव बद्रीबहादुुर खड्काले मन्त्रीस्तरीय निर्णयबाट प्रदेशअन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने निर्णय भइसकेको छ । ‘मन्त्रीस्तरीय निर्णयबाट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने निर्णय भएको छ,’ उनले भने । नयाँ अध्यक्षहरु नियुक्त भने भएका छैनन् । वाग्मती प्रदेशअन्तर्गत १३ वटा अस्पताल र १३ वटा आयुर्वेद अस्पताल गरी २६ वटा स्वास्थ्य संस्थामा यसअघिको सरकारले गरेका राजनीति नियुक्तिहरु खारेज गर्ने अन्तिम तयारी छ । ‘अब नियुक्ती खारेज गर्न मात्र बाँकी छ । सवै प्रक्रिया पूरा भइसक्यो । राजीनामा दिन्छन् की भनेर प्रतीक्षा गरेका हौं ।’, मन्त्री निकट एक स्रोतले भन्यो ।

यसअघि ती अस्पतालहरुमा नेकपा एमाले र माओवादी केन्द्रनिकट व्यक्तिहरु अध्यक्ष रहेका थिए । वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेश क्याबिनेटबाटै पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय भएको बताए । ‘राजनीतिक नियुक्तिहरु हुन्, नयाँ सरकार बनेपछि स्वभाविक रुपमा खारेज हुन्छन्,’ स्वास्थ्यमन्त्री लामाले भने, ‘प्रक्रियामा छ भएपछि थाहा पाइहाल्नु हुन्छ नि ।’

स्थानीय निर्वाचन घोषणा भइसकेको अवस्थामा स्थानीय रुपमा आना मान्छेहरुलाई नियुक्त गर्नका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु मन्त्रालयले हटाउन लागिएको आरेप विपक्षीले लगाउन थालेका छन् । स्रोतका अनुसार मन्त्री लामाले गठबन्धनलाई खुशी पारेर नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी गरेका छन् । हाल गठबन्धनमा रहेका माओवादी केन्द्र र समाजवादी दललाई पनि केही स्थानमा अध्यक्ष दिने तयारी भइरहेको छ ।