२०८१ बैशाख २४, सोमबार    

पहिलो पाइला

२०७८ माघ १, शनिबार ०९:३८ बजे

निष्पक्ष, जिम्मेवार र जवाफदेही पत्रकारिता आमनागरिकको माग हो । नेपालमा सूचना र प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा पनि नयाँ आयाम थपिने क्रम जारी छ । सोही क्रममा इन्टरनेटको माध्यमबाट आमनागरिकसम्म सूचना र विचार पुर्‍याउन अनलाइन पत्रकारिताको विकास तीब्र रुपमा भइरहेको छ । छापा माध्यमको दबदबा रहेको नेपालमा केही वर्षदेखि अनलाइन पत्रकारिताले फड्को मारिरहेको छ । काठमाडौं उपत्यकामा मात्र होइन मोफसलामा समेत व्यावसायिक रुपमा अनलाइन मिडिया सञ्चालनमा आइरहेको छन् । यसै भीडमा वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट कर्नर मिडिया प्रालिले आफ्नो पहिलो कोसेलीको रुपमा हेडम्बा न्युज डट कम (hedambanews.com) सञ्चालनमा ल्याएको छ ।

अहिलेको समय डिजिटल हो । नेपालमा वर्षेनी इन्टरनेटको पहँुच वृद्धि भइरहेको अवस्थामा निष्पक्ष, जिम्मेवार र जवाफदेही पत्रकारिताको सुरुवात गरेर आमनागरिक समक्ष सत्य, तथ्य र यथार्थपरक समाचार पस्किने हाम्रो मूल उद्देश्य हो । आधारभूत रूपमा अनलाइन मिडिया प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित छ । तर, हामी थप मेहेनत गरी हजारौं मिडियाको भिडमा फरक रुपमा प्रस्तुत हुनेछौं । मिडिया भनेको सरकारको सधैं प्रतिपक्ष मै रहन्छ । हामी पनि रहन्छौं । सरकारलाई सधैं खबरदारी गर्दै नागरिक समक्ष निष्पक्ष सूचना पुर्‍याउन हामी कुनै कसर बाँकी राख्दैनौं । सधैं सरकारको विपक्षमा रहेर पत्रकारिता गर्दैगर्दा हामी मिडियामार्फत् आवाजविहीनहरूको आवाज बाहिर ल्याउन कहिले पछाडि हट्ने छैनौं । हामी आवाजविहीनहरूको सारथी बनेर बोल्ने प्रयत्न गर्नेछौं ।

देशमा लामो समयको लकडाउनका कारण कर्पोरेट क्षेत्र ठूलो मारमा परेको छ । जसको प्रत्यक्ष असर नेपाली विज्ञापन बजारमा पर्दा नेपाली मिडिया समेत आर्थिक संकटमा परिरहेको छ । यस्तो विषम र जटिल समयमा हाम्रो अनलाइन सञ्चालन आएपनि हामीले पस्किने समाचार र विचारमा फरक शैलीबाट नवीनता दिने प्रयास गर्नेछौं । दैन्दिन घट्ने घटनाहरुमा आम चासो रहनु स्वभाविक हो । त्यसलाई सार्वजनिक रुपमा सञ्चार गर्नुको हतारो अनलाइन माध्यमको चुनौति हो । तर, हामी हतारोबीच पनि सही र तथ्यपूर्ण सामाग्री प्रस्तुत गर्न प्रतिवद्ध छौं । हाम्रो टिमले तपाईं समक्ष सही र सत्यपरक सामाग्रीहरु पेश गर्नेछ, तपाईंले विश्वास गर्ने गरी हाम्रा सामाग्रीहरु पठनीय हुनेछ ।

आम ‘अडियन्स’ को रुपमा तपाईं साथ हाम्रो अपेक्षा हो । स्वच्छ आलोचनाको हामी हृदयदेखि नै स्वागत गर्छौै । हाम्रो अभ्यास जवाफदेही पत्रकारिताको हुनेछ न कि सनसनीपूर्ण सामाग्रीको । सही सूचना पाउने तपाईंको हक हो, हामी तपाईंको हकलाई कर्तव्य ठानेर जवाफदेही पत्रकारिता गर्नेछौं ।