२०८१ बैशाख १४, शुक्रबार    

बजेटको विरोधमा एमालेद्वारा प्रदेशसभा अवरुद्ध

२०७९ असार १२, आईतबार १५:३९ बजे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाग्मती प्रदेशसभाको वैठकमा अवरुद्ध गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, बजेटले सवै जिल्लालाई नसमेटेको, चुनाव केन्द्रीत बजेट ल्याएको र एउटै योजना बजेट पुस्तिकमा धेरै स्थानमा दोहोरिएको आरोप लगाउँदै एमालेले सदनमा अवरोध सिर्जना गरेको हो ।

प्रदेशसभाको वैठक सुरुवात हुनासाथ नेकपा एमालेका सांसदहरुले उठेर प्रदेशसभाको वैठक स्थगितको माग राखेका थिए । सभामुख सानुकुमार श्रेष्ठले एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय उपलब्ध गराएका थिए ।

मुख्य सचेतक निरौलाले बजेटको विषयमा आफ्नो पार्टीको असन्तुष्टिको विषयमा सदनलाई जानकारी गराएका थिए । उनले पार्टीको धारणा राखेसँगै सभामुख श्रेष्ठले प्रदेशसभाको वैठक सोमबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए । प्रदेशसभाको वैठक अगाडि बसेको एमाले संसदीय दलको वैठकले समेत बजेटप्रति असन्तुष्टी व्यक्त गरेको थियो ।

असार १ गते प्रदेश सरकारले राजस्व संकलनको दर र खर्च गर्ने क्षमतालाई पूर्णरूपमा बेवास्ता गर्दै आगामी आर्थिक वर्ष २०७९/८० का लागि ठूलो आकारको बजेट ल्याएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाा बराबरको बजेट प्रस्तुत गरेका हुन् ।