२०८१ जेठ ५, शनिबार    

प्यानल बनाउँदै आनन्दराम, अन्य उम्मेदवार घरदैलोमै व्यस्त

२०७८ फाल्गुन १२, बिहीबार १६:०५ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशन आउँन तीनदिन मात्र बाँकी छ । जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेकाहरु अन्तिम तयारीमा जुटिरहेका छन् । हालसम्म सभापतिमा चारजनाले उम्मेदवारी दावी गरेपनि तीनजना भने सम्पर्क कार्यालय नै सञ्चालन गरेर क्षेत्रीय प्रतिनिधिलाई भेट्नमा व्यस्त छन् ।

सभापतिमा उम्मेदवारी घोषणा गरेको पार्टी सचिव बुद्ध लामा, पूर्वसचिव आनन्दराम पराजुली र सल्लाहकार जयराम लामिछाने सम्पर्क कार्यालय खोलेर माहौल आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

निर्वाचनको समय नजिकिँदै जाँदा पराजुलीले भने शुक्रबार पत्रकार सम्मेलन गरेर आफुनो प्यानल घोषणा गर्ने तयारी गरेका छन् । हाल चुनावी प्रचारको क्रममा मकवानपुरको उत्तरी क्षेत्रमा रहेका पराजुलीले शुक्रबार दिउँसो ३ बजे हेटौंडाको एभोकाडो होटलमा पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गर्न लागेको हुन् । स्रोतका अनुसार पराजुली प्यानलबाट उपसभापतिमा शेरबहादुर भ्लोन र सचिवमा यतिराज सापकोटाको नाम निश्चित भइसकेको छ । अन्य नाम टुंग्याउन उनको सचिवालयले अन्तिम कसरत गरिरहेको बुझिएको छ ।