२०८१ बैशाख २१, शुक्रबार    

पाण्डे सरकारको ‘हनिमुन पिरियड’ : उल्लेख्य काम भएको दावी

२०७८ माघ २१, शुक्रबार १५:५४ बजे

हेटौंडा/ मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वको प्रदेश सरकार गठन भएको १०० दिन पूरा भएको छ । सामान्यतया सरकार गठन भएको यस अवधिलाई हनिमुन पिरियडको रुपमा व्याख्या गरिन्छ । मुख्यमन्त्री पाण्डेले शुक्रबार आफ्नो नेतृत्वमा बनेको सरकारले पहिलो सय दिनमा उल्लेख्य काम गरेको दावी गरेका छन् ।

हेटौंडामा आयोजित प्रमुख उपलब्धिहरु सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वको सरकारले प्रदेशलाई सशक्त बनाउन नीतिगत रूपमा भूमिका खेलेको बताए । उनले सरकारले प्रदेशको आर्थिक, सामाजिक रुपान्तरण गर्न, नागरिकलाई सरल एवम् सहज गुणस्तरीय सेवा प्रवाह गर्न, पूर्वाधार विकासलाई व्यवस्थित गर्न तथा सुशासन प्रवद्र्धन गर्न प्रदेश सरकार नियमावलीमा केही हेरफेर गरी मन्त्रालयको संख्यामा केही वृद्धि गरिएको बताए । यसबाट सरकारको काम छिटो तथा पूजीगत खर्च प्रभावकारी रूपमा वृद्धि हुने र जनताले सहज रूपमा सेवा प्राप्त गर्ने विश्वास लिइएको उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयन एवं व्यवस्थित गर्न मन्त्रिपरिषद् समितिका संयोजक तथा सदस्य तोक्ने कार्य गरिएको , प्रदेश सरकारको सचिवालय तथा प्रशासनिक भवनहरु निर्माण गर्न प्रशासकीय भवनका लागि जग्गा पहिचान समिति गठन गरी आवश्यक कार्य अघि बढाइएको उल्लेख गरे । उनले चालु आर्थिक वर्ष भित्रै जग्गा पहिचान गरी नाममा ल्याई प्रशासकीय भवन निर्माणको प्रक्रियाल अघि बढाइने बताए । मुख्यमन्त्री पाण्डेले आफ्नो अध्यक्षतामा नेपाल सरकारका मुख्य सचिवको उपस्थिति र सातवटै प्रदेशका प्रमुख सचिवको सहभागितामा अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भई प्रदेशका समस्या समाधान गर्न ११ बुँदे प्रतिवद्धता पत्र जारी गरिएको बताए ।