२०८१ बैशाख २७, बिहीबार    

हेटौंडामा रासायनिक मल उद्योग खोल्न विदेशीको चासो, जग्गा भेटिएन

२०७८ माघ ९, आईतबार १७:२९ बजे

हेटौंडा/ वाग्मती प्रदेशमा रासायनिक मल कारखाना स्थापना गर्न विदेशी लगानीकर्ताले चासो देखाएका छन् ।

थाइल्याण्डको एक विदेशी कम्पनीले प्रदेश सरकारसँग समन्वय गरेर रासायनिक मल कारखाना स्थापना गर्न जग्गा खोजी सुरु गरेको छ । हेटौंडा औद्योगिक क्षेत्र र चितवनस्थित शक्तिखोर औद्योगिक क्षेत्रको उक्त टोलीले स्थलगत निरीक्षण गरिसकेको छ । सोही सिलसिलामा मुख्यमन्त्री राजेन्द्र पाण्डेसहितको टोलीले हेटौंडा औद्योगिक क्षेत्रको अनुगमन समेत गरेको थियो । हेटौंडा औद्योगिक क्षेत्र अनुगमनको क्रममा मुख्यमन्त्री पाण्डेले रासायनिक मल उद्योग खोल्न आवश्यक जग्गाको विषयमा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग लामो समय छलफल समेत गरेका थिए । तर, थाइल्याण्डको उक्त कम्पनीले भने अनुसारको जग्गा हेटौंडामा रहेको दुईवटा औद्योगिक क्षेत्रमा नभएको निष्कर्ष निकालिएको थियो ।

उक्त कम्पनीले करिब २०० विगाह जमिन आवश्यक रहेको औंल्याएको थियो । मयुरधाप औद्योगिक क्षेत्रको जग्गा लाम्चो आकारको भएका कारण प्रयोग गर्न कठिन हुने बताइएको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शक्तिखोर उपयुक्त हुन सक्नेभन्दै त्यसक्षेत्रमा जग्गा खोज्न सुझाएको थियो । ‘जग्गा र विद्युतको हिसावले यहाँ सम्भव देखिएको छैन । हामीले प्रदेशभित्रको औद्योगिक क्षेत्रबारे उहाँहरुलाई जानकारी गराएका छौं ।’, हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्र कडेँलले भने ।
मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत उपाध्यायका अनुसार उक्त कम्पनीले कृषि क्षेत्रमा प्रदेश सरकारसँग सहकार्य गर्न खोजिरहेको बताए । उनका अनुसार थाइल्याण्डको उक्त समूहलाई हेटौंडा–५ मा रहेको मत्यस्य विकास केन्द्र र प्रदेशका औद्योगिक क्षेत्र भ्रमण गराइएको बताए ।

‘मानवस्तीभन्दा अलि टाढाको जग्गा खोजी भइरहेको छ । सिन्धुलीको मरिण क्षेत्र पनि हामीले विकल्पको रुपमा सोचेका छौं ।’, उनले थाइल्याण्डबाट उक्त समूहले प्राविधिक टोली पठाएपछि उपयुक्त जग्गाको छनौट गरिने बताए । उक्त समूहको नाम भने खुलाइएको छैन ।