२०८१ जेठ ८, मंगलबार    

बानियाँ भन्छन्: पपुलरलाई टिकट दिइन्छ, क्रियाशील नै हुनुपर्दैन

२०७८ माघ २६, बुधबार ०९:३७ बजे

हेटौंडा/ सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको छ । निर्वाचन आयोगले आन्तरिक तयारी अगाडि बढाइरहेको छ । सुरक्षा निकाय आवश्यक प्रबन्ध मिलाइरहँदा राजनीतिक दलमा भने टिकटको विषयलाई लिएर चर्चा सुरु भइसकेको छ ।

हाल नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति रहेका इन्द्रबहादुर बानियाँको काँधमा १ सय १९ वटा स्थानीय तहको टिकट वितरण गर्ने जिम्मेवारी रहेको छ । कांग्रेसको विधान अनुसार स्थानीय तहको टिकट प्रदेश समितिले वितरण गर्ने हो । जसका कारण पनि अहिले उनलाई अन्य समयको भन्दा बढी दबाब रहेको छ ।

टिकट वितरणको समय नजिकिँदै गर्दा बानियाँले भनेका छन्–‘कांग्रेसमा निरन्तर लागेको र पपुलर व्यक्तिलाई टिकट दिइनेछ । क्रियाशील सदस्यता ग्रहण नै गरेको हुनुपर्छ भन्ने छैन ।’ उनले टिकट वितरण गर्दा योग्यता, क्षमता र लगनशीलतालाई जोड दिने दावी गरे । ‘कांग्रेसमा लागेको चुनाव जित्ने सम्भावना बढी भएको उम्मेदवारलाई छनौट गर्नेछौं । कांग्रेसको क्रियाशील सदस्यता लिएर पनि चुनाव जित्ने सम्भावना छैन र पपुलर छैन भने टिकट दिइँदैन ।’, उनले भने ।

बानियाँले कांग्रेसमा लामो समयदेखि लागेकालाई पार्टीमा उचित स्थान दिने र निर्वाचनमा पपुलर फिगरलाई अगाडि सार्ने नीति अवलम्बन गरिने प्रष्ट्याएका छन् ।