२०८१ बैशाख १४, शुक्रबार    

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

२०७९ असार ३१, शुक्रबार १७:४९ बजे

प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् ।

उपसभामुखमा निर्वाचि भुसालले १४८ मत प्राप्त गरिन् भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत मात्रै पर्‍यो । साढे २ वर्षदेखि उपसभामुखविहिन रहेको प्रतिनिधिसभामा भुसालले नयाँ जिम्मेवारी पाएकी हुन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । शुक्रबारको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।

गठबन्धनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् । एमालेको पक्षमा भने ९८ सांसद मात्रै छन् । त्यसमा पनि सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा संलग्न छन् ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन् ।

भुसाललाई १३ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ । २०७४ सालको उपभामुख निर्वाचनमा भुसालले ५८ भोट पाएकी थिइन् । त्यतिबेला तुम्बाहाङ्फेले २०१ भोट प्राप्त गरेकी थिइन् ।