२०८१ बैशाख १६, आईतबार    

अब चित्लाङमा प्याराग्लाइडिङ सुरु

२०८० आश्विन १२, शुक्रबार १३:५९ बजे

मकवानपुरको उसत्तरी क्षेत्रमा रहेको पर्यटकीय नगरी थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सुरु गरिएको छ ।

यसअघि थाहा १ को कुटिप्वाकल र थाहा १२ मा परीक्षण उडान भएपनि औपचारिक सुरुवात हुन सकेको थिएन । अहिले चित्लाङमा पनि परीक्षण उडान भएतापनि सबै कानूनी प्रक्रिया पूरा भएको र पटक पटकको परीक्षण उडान सफल भैसकेकोले अब निरन्तरता पाउने थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामीले बताए । अध्यक्ष बलामीका अनुसार असोज ९ मा मात्र १८ वटा परीक्षण उडान सफल भएको बताए ।

‘अब हामी बृहत कार्यक्रम गरेर यसको औपचारिक उद्घाटन गर्छौं’, अध्यक्ष बलामीले भने । लामो समय देखि चित्लाङको आकाशमा प्याराग्लाइडिङ उडाउने सपना पूरा हुन लागेको चित्लाङ पर्यटन व्यवसायी देवेन्द्र नेपालले बताए ।

बाबु एड्भेन्चरका संचालक तथा प्रबन्ध निर्देशक सानोबाबु सुनारले प्याराग्लाइडिङ संचालनबाट स्थानीय पर्यटन व्यावसायमा उल्लेख्य टेवा पुग्ने बताए । स्थानीय राजेन्द्र बलामीले चित्लाङको पर्यटन उद्योगमा नयाँ अध्यायको सुरुवात भएको प्रतिक्रिया दिए ।

२०७५ साल असारमा थाहानगरका युवाहरु निरोज प्रधान, रामशरण नेपाल, श्रीराम कार्की, मनोज रायमाझी र अनिल विष्टको समूहले पोखरास्थित दुनाटपरी रेस्टुरेन्टमार्फत् प्याराग्लाइडिङका जानकारलाई थाहा नगर झिकाएर थाहा नगरपालिका–२ कुटिप्वाल डाँडाबाट थाहाको इन्द्रायणीचौर, फुलपाती चौर, बज्रवाराही र चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ उडाउन सकिने परीक्षण गरेका थिए ।

उनीहरुले १० दिन थाहा नगरमा बिताएर त्यसमध्ये ३ दिन ३ रात लगातार थाहा–२ को कुटिप्वाल (२,१८५ मि.) आसपास क्षेत्रमा हावाको चाप परीक्षण गर्दै प्याराग्लाइडिङ टेस्टिङ गर्दा कुटिप्वालबाट प्याराग्लाइडिङ उडाउन सकिने निष्कर्ष निकालेका थिए ।