२०८१ बैशाख १७, सोमबार    

मकवानपुर ट्रक दुर्घटना : ३ जनाको मृत्यु

२०८० असार २३, शनिबार ०८:२४ बजे

मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

शनिबार बिहान करिब १:४५ बजेको समयमा मनहरी-६, नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

मकवानपुर प्रहरी प्रमुख एसपी वामदेव गौतमका अनुसार दुर्घटनामा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवन, राप्ती-८ का २८ वर्षीय रिहान रुम्बा तामाङ र सहचालक गोरखा जिल्ला गण्डकी-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ तथा ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी-३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको छ ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक ठक्कर खाएर दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको थियो ।

दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ती–३ का ३५ वर्षीय विवेक तमाङ र ६३१ नम्बर ट्रक लक मनहरी–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीरूलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।