२०८१ बैशाख १७, सोमबार    

अतिक्रमित संरचना हटाउन हेटौंडामा कार्यदल

२०७९ भाद्र १५, बुधबार ११:२८ बजे

हेटौंडा उपमहानगरपालि क्षेत्रमा अतिक्रमण र मापदण्ड बिपरीत रहेका संरचना हटाउन कार्यदल गठन गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले नगरका सम्पुर्ण वडामा नियम बिपरीत निर्माण भएका संरचनाको मूल्याङक र अनुगमनका लागि हेटौंडा १० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको हो । बैठकले संरचनाहरु हटाउनका लागि ३५ दिने सूचना जारी गरी कामलाई अघि बढाउने जनाएको छ ।

कार्यदलले मुख्य गरी प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रमा रहेको अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने नगरप्रमुख लामाले बताइन् । राजमार्ग क्षेत्र र भित्री सडक अतिक्रमण र उपमहानगरपालिकाको मापदण्ड बिपरीत निर्माण भएका संरचनाको मुल्याङकन गर्ने र हटाउने बताइएको छ ।
नगरक्षेत्रमा नक्सा पास नभइ बनेका साना ठूला टहराहरु स्वस्फुर्त हटाउन ३५ दिने सूचना प्रकाशन गरेसागै कार्यदलले काम सुरु गर्ने बताइएको छ । नगर प्रमुख लामाका अनुसार सूचना प्रकाशन पछि नहटाएमा उपमहानगरले उपकरणको प्रयोग गरेर हटाउने जानकरी दिइन् । उनले भनिन् ‘हामि सुन्दर शहर निमार्णको अभियानमा छौं, यस्ता अव्यवस्थित ढंगबाट निर्माण भएका संरचनाले बजार सुन्दरतामा कमि ल्याएको र कानुन बिपरीत रहेकाले हटाउने चयारी थालेका हौं । ’

कार्यपालिका बैठकबाट गठित कार्यदलको सदस्यमा हेटौंडा–१ का कार्यपालिका सदस्य इश्वरी रसाईली हेटौंडा–२ का सदस्य सुरज बतौंला, हेटौंडा–४ का सदस्य जेएन श्रेष्ठ र सरोकारवाला निकाय मकवानपुर उद्योग बाणिज्य संघबाट एक सदस्य रहने बताइएको छ ।