२०८१ बैशाख २१, शुक्रबार    

नेपाल त्रिकोणात्मक टि२० सिरिज च्याम्पियन

२०७८ चैत्र २१, सोमबार १५:५० बजे

अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको छ । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५१ रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि २० आई सिरिजको च्याम्पियन बनेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो । पीएनजीका सेसे बाउले ३८ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । करणले तेस्रो ओभरको पाँचौं बलमा ओपनर लेगा सियाकालाई मिड विकेटमा ८ रनमा क्याच गराए ।

पाँचौं ओभरमा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । कप्तान असाद भालालाई तेस्रो बलमा ८ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा ठूलो सट खेलेका टोनी उरा रोहित पौडेलले लङअनमा क्याच गराउँदै जितको सम्भावना बलियो बनाए । दीपेन्द्रको बलमै चाल्र्स अमिनी ठूलो सट खेल्दै लङअनम सोमपाल कामीबाट १५ रनमा क्याच गराएपछि पीएनजी दबाबमा परेको थियो । राइली हेकुरे ६ रनमा क्याच भए ।

सन्दीपले १३ औं ओभरमा दुई विकेट लिँदै नेपालको जित सहज बनाए । तेस्रो बलमा हेकुरेलाई सोमपाल कामीबाट म्याच गराए । लगत्तै अर्को बलमा पीएनजीका प्रमुख हिटर नोर्मन भानुआलाई फस्ट स्लिपमा आरिफ शेखबााट गोल्डेन डक आउट गरेपछि जित नजिक पुगेको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा र करण केसीले १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे । दीपेन्द्रले ३५ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए । करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे ।

दीपेन्द्र नेपालबाट टि२० आईमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रले लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन् ।