२०८१ बैशाख १३, बिहीबार    

गुरु-शिष्य प्रतिस्पर्धामा को भारी ?

२०७९ कार्तिक ४, शुक्रबार १९:२६ बजे

मकवानपुरमा प्रतिनिधिसभातर्फ २ वटा क्षेत्र रहेकोमा क्षेत्र–२ मा कडा प्रतिस्पर्धा हुने भएको छ  । सत्ता गठबन्धनबाट पूर्वमन्त्री एवं एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडासामु एमालेका उम्मेदवार विद्यार्थी नेता महेश बर्तौलाको चुनौती छ  ।

खतिवडाले यसअघि एमालेबाटै चार पटक सदनमा उपस्थिति जनाइसकेका छन्  । पार्टी विभाजनपछि एमालेमा उनको स्थान बर्तौलाले लिएका हुन्  । एमाले वाग्मती प्रदेश कमिटीको उपसचिव रहेका बर्तौलाको संसदीय निर्वाचनमा पहिलो प्रतिस्पर्धा हो । एमालेको विद्यार्थी राजनीतिबाट उदाएका दुवै नेताबीचको प्रतिस्पर्धालाई गुरु–शिष्यबीचको भिडन्तका रूपमा समेत चित्रण गरिएको छ  ।

खतिवडा ०४८, ०५१, ०५६ र ०७४ को निर्वाचनमा विजयी भएका थिए । पाँचौं पटक निर्वाचित हुने दाउमा रहेका उनलाई यस पटक कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाको साथ छ । तर, गत निर्वाचनमा खतिवडालाई जिताउन खटिएका बर्तौला हाल उनैलाई हराउन कम्मर कसेर लागेका छन् । अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भएका बर्तौला विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षभित्रै सांसदको टिकट हात पार्न सफल भएका हुन् ।

बर्तौलाले विद्यार्थी राजनीतिको आधार खतिवडाकै छहारीमा मकवानपुरमै बनाएका हुन् । भीमफेदी गाउँपालिका–९ नामटारका बर्तौलाले अनेरास्ववियुको इलाका कमिटीबाट विद्यार्थी राजनीति थालेका थिए । उनी मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट २ कार्यकाल स्ववियु सभापति चुनिए । दुई कार्यकाल नै अनेरास्ववियुको जिल्ला अध्यक्षसमेत बने । खतिवडा, उनकी श्रीमती मुनु सिग्देलसहितका जिल्लादेखि केन्द्रसम्मका नेतासँग बर्तौलाको पटक–पटक सहकार्य भएको छ । बर्तौलाको घर नामटार (यसअघि खतिवडाले निर्वाचन लडेको क्षेत्र–१) मा पर्ने भएकाले पनि उनीहरूबीच सहकार्य हुने गरेको थियो ।

खतिवडा यसपल्ट क्षेत्र–२ बाट प्रतिस्पर्धा गर्दै छन् । तर आफ्नो मताधिकारको प्रयोग भने उनले क्षेत्र–१ बाटै गर्नेछन् । बर्तौलाले यही विषयलाई उचालेर खतिवडालाई ‘टुरिस्ट’ उम्मेदवार भन्दै कटाक्ष गरिरहेका छन् । ०७४ सालको निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) लाई ११ हजार ९ सय ६३ मतान्तरले पराजित गरेका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ मत प्राप्त गर्दा डिनाको पोल्टामा ३२ हजार ६ सय ८१ मत परेको थियो । पटक–पटक सांसद बने पनि एमाले टुक्रिएर नेकपा (एस) बनेपछि मात्रै खतिवडा स्वास्थ्यमन्त्री बन्न पाएका थिए ।

मकवानपुर–२ मा थाहा नगरपालिका, मनहरी, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकासहित हेटौंडा उपमहानगका पश्चिमतर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढीका उत्तरतर्फका वडाहरू ५, ६, ७ र ८ पर्छन् । कुल ६२ वडा रहेकोमा गत स्थानीय निर्वाचनबाट १९ वटा वडाको नेतृत्व एमाले लिएको छ । बाँकी ४३ वटा वडाका अध्यक्ष सत्ता गठबन्धनका छन् । उक्त क्षेत्रमा एमालेका वडाध्यक्षले ३७ हजार ८६ मत पाउँदा गठबन्धनका वडाध्यक्षले ६० हजार ९१ मत पाएका थिए ।

स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले कुनै पालिकाको नेतृत्व लिन सकेको थिएन । त्यसकारण पनि खतिवडा कांग्रेस र माओवादीकै भरमा छन् । खतिवडा विगतको साख जोगाउन कस्सिएका छन् भने बर्तौला उनको विरासत भत्काउन जुर्मुराएका छन् । नयाँ अनुहार र युवा भएकाले बर्तौला कांग्रेस र माओवादीका युवा कार्यकर्ताको मन जित्न प्रयासरत देखिन्छन् । यो क्षेत्रमा १ लाख ५० हजार ५ सय ७८ जना मतदाता छन् ।