२०८१ जेठ ५, शनिबार    

पोखरा घुम्ने निम्तो लिएर हेटौंडा आइपुगे होटल व्यवसायी

२०७८ फाल्गुन १०, मंगलबार ११:२८ बजे

हेटौंडा/ नेपालको सुन्दर पर्यटकीय नगरी पोखर घुम्ने निम्तो बोकेर त्यहाँका होटल व्यवसायी हेटौंडा आइपुगेका छन् ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र सुस्ताएकोभन्दै उनीहरुले पोखरा घुम्न आग्रह गर्दै हेटौंडाका पर्यटन व्यवसायीसँग मंगलबार विहान अन्तक्र्रिया समेत गरेका छन् । होटल संघ पोखराले दुई दशकदेखि सुरु गरेको ‘जाउँ है पोखरा’ अभियानका कारण आन्तरिक पर्यटनमा वृद्धि भएपनि कोरानाका कारण पर्यटन क्षेत्र जोखिममा परेको निष्कर्ष निकाल्दै उनीहरुले पोखरा घुम्ने निम्तो लिएर देशको विभिन्न शहरमा पुगिरहेका छन् ।

होटल संघ पोखराको टोली पोखरा घुम्ने निम्तो लिएर वुटवल, चितवन, हेटौंडा र वीरगञ्जसम्म यसवर्ष पुग्ने क्रममा रहेको छ । ‘महिनौंको लामो लकडाउनले व्यवसाय बन्द भएर थुप्रै व्यवसायी पलायन हुन पुगेका छन् । १० वर्षे आन्तरिक द्वन्द्व र महाभुकम्पको समयमा समेत नेपाली पर्यटनमा यति डर लाग्दोरुपमा प्रभावित भएको थिएन । व्यवसायिक जगतमा आशा जगाउँदै सुस्ताएको आन्तरिक पर्यटनलाई पुन:उत्थान गर्ने मुख्य उद्देश्यले हामी पोखरा घुम्ने निम्तो बोकेर विभिन्न शहरमा पुगिरहेका छौं ।’, संघ अध्यक्ष लक्ष्मण सुवेदीले भने ।

जाउँ है पोखराका संयोजक विकल तुलाचनका अनुसार जनकपुर, धनगढी, सिमरा, नेपालगञ्ज र भैरहवाबाट पोखरा हवाइ सेवा जोडिएका कारण पर्यटन क्षेत्र थप चलायमान हुने विश्वास लिइएको बताए । ‘नेपाली नयाँ वर्षको सन्दर्भमा हामीले आयोजना गर्दै आएको फेवा नववर्ष महोत्सवको नियमन्त्रणा पनि हामीले प्रदान गरिरहेका छौं ।’, उनले भने ।