२०८१ बैशाख १३, बिहीबार    

ईन्द्रबहादुर बानियाँकै साथ र हौसलाले डाक्टर बने प्रविण

२०७९ कार्तिक २०, आईतबार १८:४० बजे

शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत सबै क्षेत्रमा पछाडि परेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ स्थित लोजाका २७ वर्षीय प्रविण स्याङ्तान अहिले एमबिबिएसको पाँच वर्षे कोर्स सक्याएर चितवन मेडिकल कलेजमा इन्टर्नसीप गरिरहेका छन् । दन्तरोग विशेषज्ञ बन्नको लागि आवश्यक पढाई पूरा गरेका स्याङ्तानले अब नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको लाइसेन्स प्राप्त गर्न मात्र बाँकी छ । अबको एक वर्षभित्र उनी रजिष्र्टड डाक्टर बन्दैछन् ।

उनको यो सफलताको पछाडी पूर्व गृहराज्यमन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको साथ र हौसला जोडिएकोे छ । चितवन मेडिकल कलेजमा २०७२ सालमा एमबिबिएस भर्र्ना भएका विकट गाउँका युवा स्याङ्तानलाई पढाईको लागि लाग्ने खर्चमध्ये वार्षिक ५० हजार रुपैयाँका दरले खर्च उपलब्ध गराउने बानियाँले प्रतिवद्धता जनाए । २०७३ पछि ३ वर्षसम्म वार्षिक ५० हजारको दरले पढाई खर्च बुझेका स्याङ्तान त्यसयता भने खर्र्च लिनको लागि सम्पर्कमा आएनन् । एमबिबिएस पढ्नको लागि खर्र्च उपलब्ध गराउने र अन्य केही समस्या भए सहयोग गर्ने बानियाँको आश्वासन पछि आफूलाई पढाईमा थप हौसला प्राप्त भएको स्याङ्तान बताउँछन् । ‘मेरो डाक्टर बन्ने सपना पूरा हुँदैछ । यसमा ईन्द्र दाईको साथ र हौसला पनि महत्वपूर्ण छ, दाईले नियमित रकम उपलव्ध गराईरहनु भएको थियो, ३ बर्षपछि भने म आफैंले व्यवस्थापन गरेकाले रकमको लागि दाईसंग सम्पर्क गरिन ।’ स्याङ्तानले टेलिफोन कुराकानीमा भने ।

२०६८ सालमा राक्सिराङ ९ (साविक खैराङ गाविस) अठारेको कालिका माध्यमिक विद्यालयबाट फस्ट डिभिजनमा एसएलसी पास गरेका स्याङ्तानले मकवानपुर बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा दश जोड २ उत्तीर्ण गरे । एसएलसीमा उनको ब्याचमा फस्ट डिभिजन ल्याउने स्याङ्तान एक्ला थिए । अरुभन्दा पढाईमा धेरै राम्रो भएकाले धेरैले उनलाई विज्ञान पढ्न सुझाव दिए । उनले पनि १२ कक्षासम्म विज्ञान नै पढे । त्यसपछि के पढ्ने भनेर उनले सोचेकै थिएनन् । गाउँकै कसैले उनलाई ‘डाक्टर’ पढ्ने सुझाव दियो । उनले शिक्षा मन्त्रालयले डाक्टर पढ्न दिने छात्रवृत्तिका लागि निवेदन पनि दिए । तर, उनीसँग प्रवेश परीक्षा दिने खर्चसमेत थिएन । गाउँकै समाजसेवी, राजनीतिज्ञ तथा खैराङ गाविसका पूर्व अध्यक्ष (हाल राक्सिराङ गाउँपालिका अध्यक्ष) राजकुमार मल्लसँग ठोकिन पुगे ।

मल्लले स्याङ्तानलाई परीक्षा दिन जाने खर्च १५ हजार रुपैयाँ व्यक्तिगत सहयोग दिएर पठाए । स्याङ्तानले उर्तिण भई शिक्षा मन्त्रालयको छात्रवृत्ति पनि पाए । चितवन मेडिकल कलेजमा भर्ना भएपछि छात्रवृत्तिबाहेकका अन्य खर्च जुटाउन स्याङ्तानलाई हम्मे हम्मे पर्यो । परिवारको आर्थिक अवस्था पनि निकै कमजोर थियो । सानैमा आमा गुमाएका स्याङ्तानका बुबा पनि वृृद्ध भइसकेका छन् । दाइले ज्याला मजदुरी गरी कमाएको रकमबाट उनले डाक्टर अध्ययन गरिरहेका थिए । उनको कमजोर आर्र्थिक अवस्था भएकाले तत्कालीन खैराङ गाविसबाट ५० हजार र स्थानीय तहको संरचना बनिसकेपछि पटकपटक गरी २ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

‘विकट गाउँमा गरिब परिवारमा जन्मिएकोे केटो, निकै मेहनती र पढाइमा अब्बल थियो । पछि डाक्टर बन्छु भनेर आएपछि हामीले पनि सकेको सहयोग गर्यौं ।’ अध्यक्ष मल्लले भने–‘पहिले तत्कालीन खैराङ गाविसबाट ५० हजार दिइएको थियो, पछि म गाउँपालिका अध्यक्ष भएर आएपछि २ वर्षसम्म एक÷एक लाख र एक वर्ष ५० हजारका दरले पढाई खर्र्च दिएका थियौं ।’ उनी राक्सिराङ गाउँपालिकाकै पहिलो एमबिबिएस डाक्टर भएको उनले दावी गरे । मल्लमार्फत नै ईन्द्रबहादुर बानियाँसँग स्याङ्तानलाई सम्पर्क गराइएको थियो । स्याङ्तानको पारिवारिक आर्थिक अवस्थाबारे जानकारी पाएपछि बानियाँले स्याङ्तानलाई एमबिबिएस पढ्न आर्थिक सहयोग दिएका थिए ।

यसअघि मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार रहेका छन् । आफू पदमा हुँदा र नहुँदा पनि सधैं आम नागरिकको शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गर्नमा क्रियाशील रहेको भन्दै बानियाँले जनताले निर्वाचित गराउनेमा विश्वास व्यक्त गरे ।