२०८१ भाद्र ३०, आईतबार    

अक्सिजनमा आत्मनिर्भर बन्यो हेटौंडा अस्पताल

२०७८ माघ १६, आईतबार १२:१२ बजे

हेटौंडा/ कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभावले तड्पिएको हेटौंडा अस्पतालले अहिले भने दैनिक २ सय ५० सिलिन्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने क्षमता बनाएको छ । शनिबारबाट दैनिक १ सय २५ सिलिन्डर अक्सिजन उत्पादन हुने गरी प्लान्ट सञ्चालनमा आएको हो ।

यसअघि उद्योग संघ मकवानपुरले १ सय १० र हेटौंडा उपमहानगरपालिकाको पहलमा घर जग्गा व्यवसायी मकवानपुरले दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट जडान गरिदिएका थिए । हाल अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले करिब ३ करोडको लागतमा दैनिक १ सय २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको जानकारी दिँदै अस्पतालका अध्यक्ष राजेश प्रसार्इंले भने, ‘अव हेटौंडा अस्पताललाई अक्सिजनको समस्या पर्दैन ।’ यसअघि अक्सिजनको अभावमा कोरोनाका बिरामीलाई वीरगन्ज र भरतपुर रेफर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालमा अक्सिजन ल्याउन ठूलै सोर्सफोर्स लगाउनुपरेको उल्लेख गर्दै अध्यक्ष प्रसाईंले भने, ‘अब त्यस्तो समस्या व्यहोर्नु पर्दैन ।’ हेटौंडा अस्पतालमा अहिले कोरोनाका ९ जना संक्रमित उपचाररत छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको उक्त अस्पतालमा भेन्टिलेरसहित २० बेड तयारी हालतमा राखिएको छ । तेस्रो लहरमा कोरोनाका बिरामीलाई शय्याको अभावले अन्यत्र रेफर गर्न नपरेको अस्पतालका प्रमुख डा। रामचन्द्र सापकोटाले बताए ।