२०८१ बैशाख २८, शुक्रबार    

फागुन १८ देखि ‘बी’ डिभिजन लिग

२०७८ फाल्गुन ४, बुधबार १२:०९ बजे

सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग १८ फागुनबाट हुने जानकारी गराएको छ ।

खेल तालिका अनुसार लिग १८ फागुनबाट शुरु भएर २७ चैतमा सकिनेछ । लिगमा १४ टोलीले सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ । लिगको पहिलो दिन तीन खेल हुनेछ । दुई राउन्डको खेलपछि एक दिन विश्राम राखिएको छ । चार दिनमा दुई राउन्डको १४ खेल हुनेछ । हरेक दिन दुई वा तीन खेल हुनेछ ।

हरेक क्लबले कम्तीमा २० देखि बढीमा ३५ खेलाडी दर्ता गर्न पाउनेछन् । विदेशी खेलाडी राख्न पाउनेछैनन् । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ र सि डिभिजन लिग छनोट फुटबल प्रतियोगिता २०७८ मा छनौट भएका ३ वटा क्लबहरुबाट दर्ता भएका खेलाडी खेलाउन पाउनेछैन । उनीहरु सोही क्लबबाट खेल्नुपर्नेछ ।

लिगमा रानी पोखरी कर्नर टिक (आरसिटि), श्री भगवती क्लब, टुसाल युवा क्लब, झम्सिखेल युथ क्लब, ब्वाईज युनियन क्लब, मध्यपुर युथ एसोसियसन, खुमलटार युवा क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाबस्ती युवा क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, सामाजिक युवा क्लव र चर्च ब्वाइज युनाइटेड क्लब रहेका छन् ।

सरस्वती शीर्ष डिभिजनबाट घटुवा भएको हो । चर्च ब्वाइज युनाइटेड ‘सी’ डिभिजन लिग च्याम्पियन तथा वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब दोस्रो र तेस्रो स्थानमा रहँदै ‘बी’ डिभिजन लिगमा बढुवा भएका टोली हुन् ।

यसपटक लिगको शीर्ष दुईमा रहने टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ । भने पुछारमा दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । एन्फाले प्रतियोगितामा सहभागी टिमलाई १२ लाख ५० हजार रुपैया तीन किस्तामा प्रदान गर्नेछ । पहिलो किस्ता ६ लाख, दोस्रोमा ४ लाख र तेस्रो किस्तामा २ लाख ५० हजार प्रदान गरिनेछ ।

‘बी’ डिभिजन च्याम्पियन हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले ५ लाख रुपैया हात पार्नेछ । प्रत्येक खेलमा विजयी हुने टिमलाई २५ हजार र खेल बराबरी भएको खण्डमा समान ६ हजार ५ सय प्रदान गरिनेछ । लिग भरको अनुशाषित टोलीले १ लाख रुपैया पाउनेछन् । सर्वाेत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैया जित्नेछन् ।