२०८१ जेठ ४, शुक्रबार    

बढी मूल्यमा मास्क बेच्ने दुईजना पक्राउ, ५ रुपैयाँमा बेच्न निर्देशन

२०७८ माघ ४, मंगलबार २०:१२ बजे

हेटौंडा/ स्थानीय प्रशासनले तोकिएको मूल्यभन्दा बढी रकम लिएर मास्क बेचेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हेटौंडा–१, सक्षम औषधी पसलका सञ्चालक बब्लु पाण्डे र अन्सारी फार्मेसीका साजित अन्सारीलाई पक्राउ गरेको हो । उनीहरुले तोकिएको मूल्यभन्दा बढी रकम लिएर मास्क बेचेका थिए । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

हेटौंडा बजार आफूखुशी बढी मूल्यमा मास्क बेचेको गुनासो आएपछि स्थानीय प्रशासनले मास्कको मूल्य तोकिदिएको छ । प्रशासनले हेटौंडामा सञ्चालित मेडिकल, फार्मेसी र पोलिक्लिनिकहरुको अनुगमन गरी ५ रुपैयाँमा मेडिकल मास्क विक्री गर्न निर्देशन दिएको हो । यसअघि मास्क १० रुपैयाँ विक्रीवितरण भइरहेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमो अनुगमन भएको हो । प्रशासनले स्वास्थ्य सामाग्री माक्स, सेनिटाइजर अक्सोमिटर लगायत सामाग्रीको मुल्यसूची राख्न समेत निर्देशन दिएको छ । हेटौंडा १० राप्तिरोडमा रहेको विशेष फार्मेसीमा फर्मासिस्ट नभएको भन्दै बन्द गरिएको छ । हेटौंडा बजार क्षेत्रमा रहेका आधा दर्जन भन्दा बढी मेडिकलमा अनुगमन गरिएको थियो ।

अनुगमनमा जिल्ला प्रशासन मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत गुणराज न्यौपाने, स्वास्थ्य कार्यालय मकवानपुरका क्षयकुष्ठ रोग निरीक्षक ठाकुर पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका सचिव माधव ज्ञवाली, साना तथा घरेलु उद्योग कार्यालयका लेखमान राउत, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष वासु खतिवडा, प्रहरी निरीक्षक चुडाकुमारी खड्कालगायत उपस्थित थिए ।