२०८१ बैशाख २७, बिहीबार    

ओमनद्वारा नेपालसामू मध्यम लक्ष्य प्रस्तुत

२०७८ माघ २८, शुक्रबार १७:२१ बजे

तीव्र गतिका बलर अभिनाश बोहराको उत्कृष्ट बलिङसँगै घरेलु टोली ओमानले चार देश सम्मिलित टि २० आई सिरिजमा नेपाललाई १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो ।

ओमानका कप्तान जिशान मकसुदले ४१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४३ रनमा अविजित रहे । एक समय ९।३ ओभरमा ५८–४ को कमजोर अवस्थामा पुगेको ओमानलाई पाँचौं विकेटका लागि मकसुद र नदिमले ६१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तीव्र गतिका बलर अभिनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्याप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

कश्यापले ११ बलमा २ चौका प्रहार गरे । पहिलो विकेटका लागि कश्याप र जतिन्दर सिंहले २४ रनको साझेदारी गरेका थिए । चौथो ओभरको पहिलो बलमा मध्य गतिका बलर आरिफ शेखले ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई १३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । जतिन्दर ८ बलमा ३ चौका प्रहार गरे । आरिफको बलमा जतिन्दर टप एज लागेर कट विहाइन्ड हुन पुगे । ओमानका प्रमुख ब्याटर जतिन्दरको विकेटसँगै नेपाल खेलमा हाबी बन्यो ।

कमलसिंह ऐरीले छैटौं ओभरको तेस्रो बलमा अयान खानलाई ११ रनमा आसिफबाट नै क्याच गराए । उनले ९ बलमा २ चौका प्रहार गरे । सन्दीपले नवौं ओभरको तेस्रो बलमा शोहिब खानलाई आसिफ शेखबाट ११ रनमा क्याच गराउँदै चौथो सफलता दिलाए । शोहिबले १३ बलमा १ चौका प्रहार गरे ।

अभिनाशको १८ औं ओभरको तेस्रो बलमा आरिफ शेखले लङअनमा मकसुदको ३४ रनमा क्याच ड्रप गरेका थिए । अभिनाशले चौथो बलमा नदिमलाई ३१ रनमा शरद भेषावकरबाट क्याच गराए । नदीमले ३० बलमा २ चौका प्रहार गरे । एक बलपछि विकेटकिपर नसिम खुशीलाई शरदबाटनै शून्यमा क्याच गराउँदै लगातार दुई विकेट लिएका थिए ।

तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले १ ओभरमा २ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । डेब्यू खेल खेलेका स्पिनर सागर ढकालल ३े ओभरमा ३६ रन खर्चेपनि विकेट लिन सकेनन् । नेपालले ७ बलर प्रयोग गरेको थियो ।