२०८१ बैशाख २७, बिहीबार    

दुवै मृगौला फेल भएका नेता प्रजाद्वारा सहयोगको याचना

२०७९ जेठ २४, मंगलबार १९:५७ बजे

दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारको क्रममा रहेका मकवानपुरको राक्सिराङ गाउँपालिकाका कांग्रेसका नेता रामकृष्ण प्रजाले सहयोगको लागि याचना गरेका छन् ।

आर्थिक अभावमा मृगौला प्रत्यारोपण गर्न नपाएको भन्दै उनले सहयोगका लागि याचना गरेका हुन् । सोमबार पत्रकारसंग कुरा गर्दै प्रजाले हप्ताको दुईचोटी डाइलासीस गर्नुपर्ने र एकचोटीमा ७ हजार रुपैयाँ लाग्ने भएकाले अब उपचारमा आर्थिक अभाव हुन थालेको बताए । नेपाली कांग्रेस राक्सिराङका नेता एवम् निवर्तमान वडा अध्यक्ष समेत रहेका ४६ वर्षका प्रजालाई मृगौला दान गर्न नातेदार तयार भएपनि आर्थिक अभावका कारण प्रत्यारोपण गर्न कठिन भएको छ ।

‘मृगौला दिन्छु भनेर आफन्त आउनुभएको छ तर आफुसंग पैसा नभएकोले डाइलेसीस गरेर मृत्युसँग लड्न बाध्य छु’ उनले भने । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट राक्सिराङको वडा नम्बर ८ को वडा अध्यक्ष निर्वाचित भएका उनी अल्पसंख्यक चेपाङ समुदायको हक अधिकारका लागि लड्दै आएका छन् । कांग्रेसका जिल्ला सदस्य जयबहादुर तितुङले रामकृष्ण प्रजा व्यक्ति मात्रै नभई मकवानपुरको पश्चिमी क्षेत्रको अल्पसंख्यक जातिको प्रतिनिधि भएकाले उनको जीवन रक्षाका लागि सबैले सहयोग गरिदिन अनुरोध गरे ।

‘प्रजा हजारौं चेपाङहरुको ढुकढुकी हुन्’ तितुङले भने, ‘उनी बाँच्दा हजारौं चेपाङहरु बाँच्नेछन् ।’ प्रजाको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोगी दाताहरुलाई सहयोग गरिदिन तितुङले आग्रह गरेका छन् । पार्टीका केही नेताहरु भेट्न आएको र उपचारका लागि आश्वासन दिएको भएपनि प्रक्रियाको लागि सहयोग नगरेको भन्दै प्रजाले दुखेसो गरे ।

आफू बाँचेर राक्सिराङमा नेपाली कांग्रेस र सबै चेपाङहरुको सेवा गर्न चाहेको बताउँदै उनले आफ्नो उपचारका लागि पहल गरिदिन सबैसंग अनुरोध गरेका छन् ।