२०८१ जेठ ८, मंगलबार    

विरोध खतिवडा कमिसनको लोभमा फसेको ओलीको टिप्पणी

२०७९ बैशाख १८, आईतबार १७:२५ बजे

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा फसेर अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।

मे दिवसको सन्दर्भ पारेर आइतबार हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ‘अर्बौको औषधी, सिटी स्क्यान, एक्स रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’, उनले स्वास्थ्य मन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे । ‘२४ लाख भ्याक्सिन निल्यो । अब अर्बौको औषधी खरिद हुँदैछ ।’

उनले सत्तारुढ गठबन्धन विकास गर्न नभएर सरकरा देशलाई कंगाल पार्न जन्मिएको आरोप लगाए । ‘यो सरकार खानलाई जन्मिएको हो । विकास गर्न होइन ।’, ओलीले भने । सत्तारुढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको उनले बताए । ‘सरकार अझै पनि चुनाव विथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदैछ । तर, गठबन्धन चुनाव हुन नदिने बहान खोजिरहेको छ ।’, उनले संविधान अनुसार दुई महिना अगाडि फागुनमा हुनुपर्ने बताए । ‘गठबन्धन संविधानको पालना गर्ने सरकार भए फागुनमै चुनाव हुन्थ्यो ।’, उनले थपे ।

उनले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर बढाएको विषयमा समेत व्यंग्य गरे । ‘हेटौंडाभर मन्त्रालय नै मन्त्रालय र मन्त्री नै मन्त्री देखियो । यता, हेर्‍यो झण्डा उता हेर्‍यो झण्डा ।’, उनले भने ।