२०८० चैत्र १६, शुक्रबार    

निरन्तर अडिग डिना

२०७९ कार्तिक २१, सोमबार १७:५६ बजे

महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुरे माझ मात्र नभई मुलुकमा नै परिचित एक हिम्मतवाली नाम हो भन्दा फरक पर्दैन । प्रायः महिलाहरु प्रत्यक्ष तर्फ उम्मेदवार हुन नखोज्ने, समानुपातिक नै रोज्ने गर्दछन् । तर उनले यो पटक समानुपातिकतर्फ पहिलो नम्बरमा भएको आफ्नो नाम समेत त्यागिन् ।

मकवानपुरलाई भूगोल बनाएर देशकै राजनीतिमा सक्रिय उनी यसअघि पनि पटक पटक प्रत्यक्षतर्फ निर्वाचनमा होमिएकी थिइन् । यद्यपी जित भने निकाल्न सकेकी छैनन् । यो पटक पनि उनले फेरि प्रत्यक्षमै उम्मेदवार बनेर चुनावी अभियानमा होमिएकी छिन् । यस अर्थमा पनि उनलाई हिम्मतवाली भन्दा फरक पर्दैन । डिनालाई हिम्मतवाली भन्ने धेरै आधारहरु छन् । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको ४ महिलामध्ये उनी एक हुन । सहजै समानुपातिकबाट सांसद हुने निश्चित भएपनि जनताको बीचमा काम गरेर जनताबाट निर्वाचत हुन आएकोले उनको हिम्मत स्वाभाविक छ ।

अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी उनी नेपालको प्रजातन्त्रलाई पुनस्र्थापना गर्ने सम्बन्धमा नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहमा जेल समेत परेकी थिइन् । गिरिजाप्रसाद कोइराला, नोना कोइराला, सुशील कोइराला शैलजाहरुसगै जेल परेकी उनले नेपालमा प्रजातन्त्र पुर्नस्थापना, संविधान निर्माणसंगै महिला, आदिवासी जनजाती र दलितहरुको क्षेत्रमा काम गरेकी छिन् । डिना मकवानपुरमा पहिलोपटक महिला साक्षरता सुरु गर्ने अभियानकर्ता समेत हुन । यसकारण पनि उनी हिम्मतवाली हुन् भन्दा फरक पर्दैन ।

उनले प्रौढ शिक्षामार्फत महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको थिइन् । पहिलो गैरसहकारी संस्था स्थापना गर्ने व्यक्ति पनि हुन । महिला साक्षरता अभियान भनेर सुरुसुरुमा नेपाल महिला संघबाट डिनाले आफै पैसा उठाएर गाउँमा शिक्षक पाउन मुस्किल रहेका बेला बजारबाट शिक्षक पठाएर पनि कार्यक्रमलाई निरन्तरता दिएकी थिइन् । वि सं २०४८ सालदेखि मकवानपुरको चुनावी मैदानमा अग्रसर भई परिचित बनेकी डिना कांग्रेसको सहमहामन्त्री पदमा रहेकी छिन् । उनले २०३६ सालको विद्यार्थी आन्दोलनबाटै राजनीति सुरु गरेकी हुन् । २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापति निर्वाचित उनी २०४६ को आन्दोलनपश्चात निरन्तर सक्रिय राजनीतिमा छिन् । २०४७ सालमा नेपाली काँग्रेसको नेपाल महिला संघको मकवानपुर जिल्ला सभापति, २०४९ मा महासमिति सदस्य बनिन् ।

१५ वर्षभन्दा बढी कांग्रेसको केन्द्रीय सदस्य रहेकी उनी २०७८ मा सम्पन्न पार्टीको महाधिवेशनबाट सहमहामन्त्री चुनिएकी हुन । पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य भएकी उनले २०६४ सालमा जलस्रोत राज्यमन्त्रीका रुपमा समेत कार्यभार सम्हाल्ने अवसर प्राप्त गरिन् । २०५९ मै राष्ट्रिय महिला आयोगको सदस्य बनिसकेकी उनी महिलाहरु शिक्षा, स्वास्थ्य र रोजगारमा सक्षम हुनुपर्ने विचार राख्छिन् ।

राजनीति संगसंगै सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् । खासगरी महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशिल डीना दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको संस्थापक अध्यक्ष पनि हुन । मकवानपुरमै जन्मे हुर्केकी उपाध्याय जिल्लाको भूगोल, सामाजिक परिवेशलाई नजिकबाट चिनेको र यहाँको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने आफूलाई राम्रो जानकारी रहेको बताउँदै आएकी छिन् ।

मंसिर ४ गतेको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि लोकतान्त्रिक बाम गठबन्धनकी उम्मेदवार रहेकी उनलाई कांग्रेससंगै नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा लगायतको दलको साथ छ । जित सुनिश्चित भएपनि मतान्तर बढाउनका लागि विभिन्न अभियानमा लागिपरेको उनको भनाईछ । उनले सबै क्षेत्रलाई समेटेर आफ्नो संकल्प समेत सार्वजनिक गरिसकेकी छिन् ।