२०८१ बैशाख १४, शुक्रबार    

थाहाका तस्वीर बसन्तपुरमा प्रदर्शन

२०७९ कार्तिक २१, सोमबार १८:११ बजे

मकवानपुरको थाहा नगरपालिकालाई चिनाउने उद्देश्यले काठमाडौंको बसन्तपुरमा तस्वीर प्रदर्शनी गरिएको छ । बसन्तपुरस्थित काल भैरव डबलीमा भएको थाहा पर्यटकीय फोटो प्रदर्शनीमा ६ सय विदेशीसहित करिब १३ हजार जनाले अवलोकन गरेको नगरपालिकाले जनाएको छ ।

स्थानीय युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगर र इन्द्रसरोबर आसपासका पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, जीवन यापन, कला, संस्कृति, धार्मिक स्थलहरु आदि समेटिएको करिब एक सय वटा फोटोहरु प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

१८-२० कात्तिकसम्म सञ्चालन भएको फोटो प्रदर्शनीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले गरेका थिए । मन्त्री श्रेष्ठले थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको बताएका थिए ।

थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले फोटो प्रदर्शनीले थाहा नगरको पर्यटनको विकासलाई टेवा पुगेको र देशको संघीय राजधानीको मुटुमा आफ्नो गाउँ/ठाउँ चिनाउने अवसर पाउदा खुसी व्यक्त गरे ।

प्रदर्शनीमा राखिएका फोटो जर्मनी, न्युजिल्यान्ड, क्यानडा र युक्रेनका पर्यटकले खरिद गरेका छन् । उक्त अवसरमा २५० भन्दा बढी फोटो बिक्री भएको आयोजकले बताएको छ ।

कार्यक्रमका प्रमुख सहयोगी संस्था ओम अध्याय रिट्रिटका अर्जुन सिंह ठकुरीले फोटो प्रदर्शनीले थाहा नगर, इन्द्रसरोवर र समग्र उत्तरी मकवानपुरको पर्यटन प्रबर्द्धन र प्रचार प्रसारमाका लागि सकारात्मक भूमिका खेलेको बताए । कार्यक्रमको आयोजना थाहा नगरपालिकाले गरेको थियो ।