२०८१ बैशाख २३, आईतबार    

अघिल्लो निर्वाचनः मकवानपुरका पाँच पालिकामा झिनो मतान्तर

२०७९ बैशाख १९, सोमबार १५:३७ बजे

२०७४ को स्थानीय तह निर्वाचनमा मकवानपु्रका पाँच पालिकामा झिनो मतान्तरमा हारजित भएको थियो ।

पाँच पालिकामा पाँच सय भन्दा कम मतान्तरमा हारजित भएको तथ्यांक छ । जिल्लाका १० पालिकामध्ये पाँच गाउँपालिकामा ठूला दलबीच झिनो मतान्तरले हारजित भएको हो । अहिले झिनो मतान्तरको अध्ययन गर्दै पाँच दलिय गठबन्धनले जितको आधार तयार गर्दैछन् ।

अघिल्लो निर्वाचनमा पाँच पालिकाहरुमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच झिनो मतान्तरमा प्रमुख उपप्रमुख विजयी भएका थिए । बागमती गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार राजकुमार तिमल्सिनालाई माओवादी केन्द्रका सर्केश घलानले १ सय ३५ मतान्तरले पराजित गरेका थिए ।

घलानले ३ हजार २ सय २१ र तिमल्सिनाले ३ हजार ८६ मत ल्याएका थिए । घलान यसपटक पनि माओवादी केन्द्र र काँग्रेसको गठबन्धनमा अध्यक्षको उम्मेदवार बनेका छन् । भीमफेदी गाउँपालिकामा हिदम लामाले नेकपा एमालेबाट जितेका थिए । लामाले माओवादीका उम्मेदवार रञ्जितकुमार रानालाई १ सय ४४ मतान्तरले पराजित गरेका थिए ।

लामाले ३ हजार ८ सय ४२ र रानाले ३ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए । मकवानपुरगढी गाउँपालिकामा पनि झिनो मतान्तरले जितहार टुंगिएको थियो । मकवानपुरगढीमा एमालेका बिदुर हुमागाईंले काँग्रसका दोर्जे लामा स्याङ्तान बीच प्रतिस्पर्धा भएको थियो । अध्यक्षमा हुमागाईंले १ सय ६१ मतान्तरले जितेका थिए । हुमागाईंले ३ हजार ८ सय १४ मत ल्याउँदा स्याङ्तानले ३ हजार ६ सय ५३ मत पाएका थिए ।
यसपटक पनि मकवानपुरगढीमा एमालेबाट हुमागाईं र काँग्रेस, माओवादी केन्द्र गठबन्धनका उम्मेदवार स्याङ्तानबीच प्रतिस्पार्धा हुनेछ । प्रतिस्पर्धी उम्मेदवार अघिल्लो निर्वाचनकै भएका कारण मकवानपुरगढीमा चुनावी भिडन्त रोचक हुने अनुमान गरिएको छ । मनहरी गाउँपालिकामा पनि झिनो मतान्तरले काँग्रेसका उम्मेदवार पराजित भएका थिए ।

मनहरीमा शंकर न्यौपाने ३ सय ९ मतान्तरले पराजित भए । उनलाई एमालेका उम्मेदवार एकराज उप्रेतीले पराजित गरेका थिए । उप्रेतीले ४ हजार ६ सय ४९ र न्यौपानेले ४ हजार ३ सय ४० मत ल्याएका थिए । उप्रेती यसपटक पनि एमालेबाट उम्मेदवार बनेका छन् । मनहरीमा उप्रेती र गठबन्धनका उम्मेदवार काँग्रेसका रञ्जन कालाखेतीबीच प्रतिस्पर्धा हुनेछ । कैलाश गाउँपालिकामा टंकबहादुर मोक्तानले एमालेबाट जितेका थिए ।

उनले काँग्रेसका लोकबहादुर मोक्तानलाई ४ सय ४३ मतान्तरले पराजित गरेका थिए । टंकले २ हजार ८ सय २ र लोकले २ हजार ३ सय ५९ मत ल्याएका थिए । टंक एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा छन् । उनी यसपटक पनि नेकपा एसबाट उम्मेदवार बनेका छन् ।
काँग्रेसबाट पनि यसपटक लोक उम्मेदवार बनेका छन् । कैलाशमा गठबन्धनको तालमेलमा बिबाद आएपछि गठबन्धनमै रहेका काँग्रेस र नेकपा एसबाट छुट्टाछुट्टै उम्मेदवार बनेका हुन् ।