२०८१ जेठ २, बुधबार    

डलर देखाएर ठगी गर्ने ४ जना पक्राउ

२०७९ पौष २१, बिहीबार १७:२५ बजे

डलर देखाएर ठगी गर्ने ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै डलर देखाएर ठगी गर्ने ४ जनालाई सार्वजनिक गरिएको हो । उनीहरुलाई प्रहरीले बुधबार दिउँसो करिब ३ बजे नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे– ३ का २१ वर्षीय सोमबहादुर डुम्जन, ३३ वर्षीय दिवश डुम्जन, बाह्रविसे–४ का २८ वर्षीय शेरबहादुर तामाङ र सिन्धुपाल्चोक जिल्लाकै त्रिपुरा गाउँपालिका–२८ वर्षीय देवा डुम्जन रहेका छन् । विशेष सूचनाको आधारमा अवैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरु भएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली खटिएको थियो ।

ठगीमा संलग्न एक जना भने फरार रहेको मकवानपुरका प्रहरी प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर, ६ हजार २ सय १० नेपाली रुपैयाा, कागजको नक्कली नोट ८ बन्डल, ५ थान मोबाइल र ३ थान गुलेली बरामद गरेको छ ।