२०८१ बैशाख ८, शनिबार    

फ्रेण्डसमाथि एपीएफ हावी, फराकिलो जीत दर्ता

२०७९ जेठ २२, आईतबार ११:३६ बजे

हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत् आइतबार विहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ ।

ए डिभिजन टोली एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए । एकपक्षीय खेलमा एपीएफका लागि लामाले खेलको २८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । विपक्षीले फल गरेपछि प्राप्त पेनाल्टिमा उनले गोल गरेका हुन् । ७६ औं मिनेटमा एपीएफका गुरुङ र खेलको अतिरिक्त समयमा थिङले गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा फ्रेण्डस १० खेलाडीमा सीमित भएको थियो । फ्रेण्डसका रोशन पहारीले रेडकार्ड प्राप्त गर्दै मैदान छाड्न बाध्य भएका थिए । खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए । उनले दशहजार रुपैयाँ नगद प्राप्त गरे ।

शनिबारका लागि तोकिएको यस खेल वर्षात्का कारण अन्तिम समयमा स्थगित गरिएको थियो । आयोजक मकवानपुर जिल्ला फुटबल संघले दुवै क्लबका प्रतिनिधिको सहमतिमा आज विहान खेल गरेको हो ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा पहिलो चरणको खेलहरु सञ्चालन भइरहेका छन् । आइतबार दिउँसो नेपाल पुलिस र खुमलटार एफसीवीच खेल हुनेछ । चौथो संस्करणको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल जेठ ३० गते हुनेछ ।