२०८१ बैशाख १२, बुधबार    

प्रदेशले स्वरोजगार मुलक कार्यक्रम गर्ने

२०७९ श्रावण ३१, मंगलबार १०:५३ बजे

प्रदेश युवा परिसद् बागमतीको आयोजनामा ‘अन्तरपुस्ता ऐक्यवद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मुल नाराका साथ २२ औ अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा सोमबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ । साथै अन्तर्राष्ट्रिय  युवा दिवसका अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रमको सोमवार समापन गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले युवाहरुको हकहितका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । कार्यक्रममा युवाहरुले राखेका प्रश्न र सुझावहरुपछी जवाफ दिदै मन्त्री ढकालले युवाहरुलाई स्वदेशमानै टिकाउनका लागि प्रदेश सरकारले स्वरोजगार मुलक कार्यक्रम पनि ल्याएको बताएका छन् ।

कार्यक्रमका सभाध्यक्ष तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुका आफ्ना कुरा प्रत्यक्ष रुपमा सरकारका मन्त्रीलाई राख्नका लागि यस्ता कार्यक्रम गरिएको बताए । युवाहरुले सामाजिक सञ्जाल मार्फत सरकारलाई प्रश्न गरेपनि सिधा भेटेरनै आफ्ना कुरा राख्दा प्रभावकारी हुने बताए ।

कार्यक्रममा हेटौंडा क्याम्पसका उपप्राध्यापक अर्पण पराजुलीले विभिन्न जिल्लामा युवाहरुको विषयमा गरिएको सर्वेक्षणको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।  कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, गैरसरकारी संस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा, प्रदेश युवा परिषद्का निमित्त कार्यालय प्रमुख रमेश प्रसाद घिमिरे लगायतकाको आतिथ्यता रहेको थियो ।