२०८१ बैशाख २३, आईतबार    

एमाले अध्यक्ष श्रेष्ठ भन्छन् : गठबन्धनलाई हराउन हामी सक्षम छौं

२०७८ फाल्गुन २४, मंगलबार ११:५४ बजे

हेटौंडा/ नेकपा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्न आफ्नो पार्टी एक्लै सक्षम रहेको बताएका छन् ।

चैतको पहिलो साताबाट स्थानीय तहको निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको जानकारी हेडम्वा न्युजलाई दिँदै अध्यक्ष श्रेष्ठले हाल सत्तारुढ गठबन्धन एक भएपनि जनतामा त्यसको प्रभाव नपर्ने दावी गरे । ‘जनमतमा गठबन्धनको कुनै असर पर्दैन । पहिला पनि हाम्रोविरुद्धमा गठबन्धन भएकै हो । हामी गठबन्धनलाई पराजित गर्न सक्षम छौं ।’, उनले भने ।

मकवानपुरमा नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढेको र अन्य दलहरुले जिल्लामा गरेको गलत गतिविधि जनताले नजिकिबाटै नियालिरहेका कारण पनि जनमतमा गठबन्धनको प्रभाव शुन्य रहेको दावी उनको छ । ‘मतदाता स्वतन्त्र हुन् । उनीहरुले आफ्नो विवेक प्रयोग गर्नेछन् । प्रधानमन्त्री बनाउन वा अन्य स्थानमा गठबन्धनको प्रभाव रह्ला तर, जनतास्तरमा त्यस्तो रहँदैन ।’, उनले भने ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिको रुपमा मकवानपुरमा स्थापित भएको एमालेले फागुन महिनाभर संगठनको आन्तरिक तयारी गर्ने र चैतको पहिलो साताबाट स्थानीय तह निर्वाचन लक्षित गतिविधि अगाडि बढाउने श्रेष्ठले जानकारी दिए ।