२०८१ बैशाख २९, शनिबार    

महिलालाई नै उपमेयर बनाउन माग

२०७९ बैशाख ८, बिहीबार १७:३० बजे

सत्तारूढ पाँच दलीय गठबन्धनबीच भएको सहमति अनुसार, हेटौंडा उपमहानगरमा नेकपा (एकीकृत समाजवादी) ले मेयर र कांग्रेसले उपमेयर पद पाएका छन् । यस अनुसार, अब कांग्रेसले महिलालाई नै उपमेयरको उम्मेदवार बनाउनुपर्ने माग गरिएको हो ।

यसअघि कांग्रेस उपमहानगर कार्यसमितिले मेयर र उपमेयरको सिफारिश गरिसकेको छ । कांग्रेसले मेयरमा भीमसेन महत, प्रभात दाहाल, राजेश बानियाँ लगायतको नाम पठाएको थियो। त्यस्तै, उपमेयरमा इन्दिरा न्यौपाने, अमृता थापा र ताराकुमारी राई कार्कीको नाम सिफारिश गरिएको थियो ।

कांग्रेसको भागमा उपमेयर परेपछि यसअघि मेयरमा सिफारिश भएका नेताहरू उपमेयरको उम्मेदवार बन्न लबिइङमा लागेका छन् । त्यसको विरोध गर्दै तीनै जना नेत्रीले अब महिलाले नै उपमेयरको उम्मेदवारी पाउनुपर्ने माग गरेका छन् ।

“अब उपमेयरमा सिफारिश भएका व्यक्तिबाटै उम्मेदवार बनाउनुपर्छ। हामी तीन जनामध्ये जसलाई बनाए पनि सहमत छौं,” नेत्री न्यौपानेले भनिन्। पुरुषलाई उपमेयरको उम्मेदवार बनाएमा भने विरोध गर्ने तीनै जनाले जनाएका छन्।

यसैबीच एकीकृत समाजवादीको भागमा मेयर परेपछि कांग्रेस नेताहरूले असन्तुष्टि जनाएका छन्। उनीहरू बिहीबार पत्रकार सम्मेलन गरी यो निर्णय सच्याउन माग गरेका छन् ।