२०८० चैत्र १५, बिहीबार    

प्रदेश सरकार गठन भएपछि,चार वर्षमा साढे चार सय किमि सडक कालोपत्रे

२०७९ श्रावण ३०, सोमबार १५:१५ बजे

बागमती प्रदेश सरकारले चार वर्षको अवधिमा साढे चार सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको छ। बागमती प्रदेश सरकार गठन भएपछिको चार वर्षको अवधिमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा गरी ४६८.६ किमि सडक कालोपत्रे गरेको हो।

मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय र मातहतका कार्यालयहरूमार्फत गत आर्थिक वर्ष २०७८/७९ मा २५२.१ किमि सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधाभन्दा कम ११६.८ किमि मात्र सडक कालोपत्रे भएको निर्देशनालयले जनाएको छ। 

निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले प्रदेशभित्र निर्माण भएका सडकहरूको स्तरोन्नतिका क्रममा आव २०७७/७८ सम्ममा प्रदेशका विभिन्न जिल्लामा गरी ३५१.८ किमि सडक कालोपत्रे भएको जानकारी दिनुभयो। 

उहाँले गत आवमा लक्ष्यभन्दा कम सडक कालोपत्रे हुनुमा निर्माण सामग्रीमा भएको मूल्य वृद्धि देखाउँदै निर्माण कम्पनीले काम नगर्नु, आर्थिक वर्षको अन्त्यमा योजनाहरू थपिनुलगायतका कारण रहेको बताउनुभयो।

यस्तै गत आवसम्ममा प्रदेशभर १५८.६ किमि सडक ढलान भएको छ। गत आवमा प्रदेश सरकारले ७५.९ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेकोमा ७०.७ किमि सडक कालोपत्रे गरिएको निर्देशनालयको तथ्याङ्कमा छ।

प्रदेशका विभिन्न जिल्लामा गरी चार वर्षको अवधिमा कच्ची सडकतर्फ २२८.३ किमि नयाँ ट्र्याक निर्माण र एक हजार २४०.५ किमि सडक मर्मतसम्भार तथा ग्राभेल सडकतर्फ ६७२.३ किमि सब बेसस्तरको सडक स्तरोन्नति र ७०२.९ किमि नियमित मर्मतसम्भार एवं संरचना निर्माणको काम बितेको चार वर्षमा भएको छ।

 गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक; पूर्वाधार विकास कार्यालय, काभ्रेपलाञ्चोक; पूर्वाधार विकास कार्यालय, ललितपुर; पूर्वाधार विकास कार्यालय, चितवन; पूर्वाधार विकास कार्यालय, रामेछाप; पूर्वाधार विकास कार्यालय, नुवाकोट; प्रादेशिक सडक डिभिजन कार्यालय, धादिङ र प्रादेशिक सडक डिभिजन कार्यालय, सिन्धुलीमार्फत ११७.७ किमि नयाँ ट्र्याक निर्माण गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी १६०.२ किमि सडकको नयाँ निर्माण भएको थियो।