२०८१ जेठ १, मंगलबार    

वुवाको सम्झनामा क्रियापुत्री भवन निर्माण

२०७८ चैत्र १६, बुधबार ०८:१८ बजे

आफ्नो स्वर्गीय वुवाको मेगनाथ अधिकारीको सम्झनामा हेटौंडा–७ का युवा व्यवसायी हेम अधिकारीले क्रियापुत्री आवासीय भवन निर्माण गरेका छन् ।

राजनीतिमा समेत सक्रिय अधिकारीले हेटौंडा–७ स्थित किरणचोक टोलमा क्रियपुत्री भवन निर्माण गरेका हुन् । उनले करिब ५ लाख रुपैयाँ खर्चे क्रियापुत्री आवासीय निर्माण गरेका हुन् । ‘वुवाको इच्छा एउटा क्रियापुत्री भवन निर्माण गर्ने थियो । सोही सपना पूरा गर्न मैले निर्माण गरेको हुँ ।’, उनले स्थानीयका लागि क्रियापुत्री भवनको आवश्यकता पनि रहेको बताए ।

‘विशेष गरी वर्षात्का समयमा कर्मकाण्ड गर्न समस्या हुने गरेको थियो । यो निर्माणपश्चात् समस्या समाधान हुने विश्वास गरेको छु । यस भवनका लागि आवश्यक पर्ने पानी, विद्युत तथा अन्य सामग्री पनि उपलब्ध गराउनेछु ।’, उनले भने ।

अधिकारीले वुवाको सम्झनामा हेटौंडा–५ मा निर्माणाधिन पिप्लेक्याम्पा रंगशालामा प्लेयर्स बक्स सहयोग गरेका थिए । विभिन्न समाजिक क्षेत्रमा समेत अधिकारीले लामो समयदेखि सहयोग गरिरहेका छन् ।