२०८१ बैशाख १७, सोमबार    

सांसदको शपथ आज, प्रदेशसभा बैठक बोलाउने तयारी

२०७९ पौष १४, बिहीबार ०८:५९ बजे

वाग्मती प्रदेशमा संसद्को नयाँ अधिवेशनको प्रक्रिया सुरु भएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै संसदीय प्रक्रिया अगाडि बढेको हो ।

ढुंगानाले बिहीबार बाँकी सांसदलाई शपथ गराउने छन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुंगानाले सभाको अध्यक्षता गर्नेछन् । प्रदेशसभाको आगामी वैठकको मिति भने अझै तय भइसकेको छैन ।

प्रदेश सरकारले पुस १७ मा प्रदेशसभाको पहिलो बैठक राख्न सर्वदलीय बैठकमा प्रस्ताव गरेको छ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाएको मितिदेखि २० दिनभित्रै प्रदेशसभा बैठक राख्नुपर्ने कानुनी व्यवस्था छ ।

‘शपथग्रहणपछि कार्यव्यवस्था परामर्श समितिको वैठक बसेर प्रदेशसभाको पहिलो बैठकको मिति तय गरिनेछ । त्यसपछि सभामुख र उपसभामुखको चयन प्रक्रिया अगाडि बढ्नेछ,’ प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले भने । प्रदेशसभाको अधिवेशन पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने कानुनी व्यवस्था छ ।

‘हामीले प्रदेशसभाको बैठक बस्नका लागि सबै तयारी पूरा गरिसकेका छौं,’ उनले भने । प्रदेशसभाको नयाँ अधिवेशन सञ्चालन गर्न करिब २ करोड ६० लाख रुपैयाँ खर्चेर विभिन्न संरचना निर्माण, मर्मत तथा रङरोगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसपटक प्रदेशसभामा ७ दलको प्रतिनिधित्व छ ।