२०८१ बैशाख २३, आईतबार    

उपमहानगरमा संगठन विस्तारलाई तीब्रता दिँदै माओवादी केन्द्र

२०७८ फाल्गुन २४, मंगलबार १०:५४ बजे

हेटौंडा/ नेकपा माओवादी केन्द्रले हेटौंडा उपमहानगर क्षेत्रमा संगठन विस्तार अभियानलाई तीब्रता दिएको छ ।

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर माओवादीले संगठन विस्तार र पुनर्गठनलाई तीब्रता दिएको हो । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर समिति उपाध्यक्ष प्रदीप अर्यालका अनुसार उपमहानगरको १९ वटै वडाको प्रत्येक टोलमा टोल कमिटी समेत गठन गर्ने गरी अभियानलाई अगाडि बढाइएको छ ।

‘हामीले संगठन विस्तारसँगै पुनर्गठन र प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिरहेका छौं ।’, उपाध्यक्ष अर्यालका अनुसार पार्टीको निर्देशन अनुसार कार्यतालिका नै बनाएर टोलटोलमा अभियान सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत् मंगलबार हेटौंडा–११ स्थित नवलपुर क्षेत्रमा टोल कमिटी गठन गरिएको छ । नगर अध्यक्ष तीर्थ लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

‘पार्टीले संगठनलाई चुस्तदुरुस्त गर्न योजना बनाएको छ । हामीले सोही अनुसार गरिरहेका छौं ।’, उनले भने ।