२०८० चैत्र १६, शुक्रबार    

महाधिवेशनको तयारी पूरा भयो, हेटौंडाको चौतर्फी विकासमा टेवा पुग्नेछ

२०७९ श्रावण ४, बुधबार १६:२३ बजे

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन नेपालको ९ औं केन्द्रीय महाधिवेशन शुक्रबार र शनिबार हेटौंडामा हुँदैछ । युनियन मकवानपुर शाखाको आतिथ्यतामा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको हालसम्मको तयारीको विषयमा हेडम्वा न्युजले युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी ‘पोष्टराज’सँग गरेको कुराकानीको अंश ।

महाधिवेशको तयारी कसरी अगाडि बढिरहेको छ ?

महाधिवेशनको तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ । हाम्रो संस्थाको आठवर्ष पछि हुन लागेको महाधिवेशनलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न हामीले खाना, आवास, अतिथि सत्कारलगायत सम्पूर्ण तयारी पूरा गरिसकेका छौं ।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुने तय भएको छ । अतिथि, प्रतिनिधि र पर्यवेक्षकको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?

महाधिवेशन शुक्रबार र शनिबार हुने भएपनि विहीबारबाटै अतिथि, प्रतिनिधि, पर्यवेक्षक आउने क्रम सुरु हुनेछ । हामीले सोही अनुसार तयारी समेत गरेका छौं । अतिथि, प्रतिनिधि र पर्यवेक्षक गरी करिब दुईहजार जना सहभागी हुने निश्चित छ ।
प्रधानमन्त्री, मन्त्री तथा पार्टीको शीर्ष नेतृत्व नै हेटौंडामा हुने भएका कारण सोही अनुसार सुरक्षाको व्यवस्था मिलाउन हामीले जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई अनुरोध गरेका छौं । महाधिवेशनको उद्घाटन, बन्द सत्र र नयाँ कार्यसमिति चयनका लागि हुने मतदानको सम्पूर्ण प्रबन्ध रोयल पार्टी प्यालेसमा हुने गरी हामीले व्यवस्था मिलाएका छौं ।

हेटौंडामा रहेको होटलमा मात्र आवासको व्यवस्था सम्भव नभएपछि छिमेकी जिल्ला बाराको अम्लेखगंज र चितवनको सौराहामा समेत आवासको व्यवस्था मिलाएका छौं ।

युनियन देशकै ठूलो र धेरै पत्रकार आबद्ध भएको संस्था पनि हो । यस महाधिवेशनका लागि आवश्यक खर्चको व्यवस्था कसरी मिलाउनु भएको छ ?


पक्कै युनियन लोकतन्त्र, प्रजातन्त्रमा विश्वास राख्ने पत्रकारहरुको संस्था हो । हाम्रो संस्था देशकै सवैभन्दा ठूलो र धेरै सञ्चारकर्मी आबद्ध भएको संस्था पनि हो । महाधिवेशनमा हामीले करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौं । दुईदिनको अवधिमा हेटौंडमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार विभिन्न क्षेत्रमा हुने समेत अनुमान गरेका छौं । हामीलाई महाधिवेशनका लागि केन्द्र, प्रदेश, विभिन्न स्थानीय तह, प्रतिनिधिको रजिष्ट्रेशन र वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको छ ।

महाधिवेशनले नयाँ कार्यसमिति चयन पनि गर्नेछ । अब युनियन संघीयस्वरुप अनुसार नयाँ कार्यसमिति चयन गर्छ वा गर्दैन ?

अवश्य पनि युनियन संघीयस्वरुप अनुसार जान्छ । देश नै संघीयतामा गइसकेको छ । नेपाल पत्रकार महासंघले पनि संघीयस्वरुप अनुसारको संरचना निर्माण गरेको छ । युनियनको महाधिवेशनले पक्कै पनि सोही अनुसारको विधान सर्वसम्मतरुपमा पास गरेर नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ विधान पास भएपछि पक्कै पनि युनियन संघीयस्वरुप अनुसार संरचना निर्माण हुनेछ । नयाा विधान अनुसार अब ७५ सदस्यीय नयाा कार्यसमिति बन्ने छ ।

महाधिवेशन हेटौंडामै आयोजनाहुँदैछ यसले कस्दो सन्देश प्रदान गर्छ ?

महाधिवेशन हेटौंडामा हुनु हामी मकवानपुरबासीका लागि गौरवको विषय हो । हेटौंडा वाग्मती प्रदेशको राजधानी समेत भइसकेको छ । देशभरको ७७ जिल्लाकै सञ्चारकर्मी हेटौंडा आउनेछन् । त्यो अवधिमा हेटौंडाको प्रचारप्रसार देशभर हुनेछ । हेटौंडा दुईदिन देशकै केन्द्र बन्नेछ । यसबाट हेटौंडाको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्नेछ । हेटौंडाको प्रचार पनि देशभर नै हुनेछ । हेटौंडा पनि ठूलो इभेण्ट आयोजना गर्न सक्षम छ भन्ने सन्देश यसबाट प्रवाह हुनेछ । समग्रमा भन्नुपर्दा महाधिवेशनले हेटौंडाको चौतर्फी विकासमा सहयोग पुग्नेछ । यस महाधिवेशनले हेटौंडा समृद्धतर्फ अगाडि बढ्दैछ भन्ने मूल सन्देश प्रवाह गर्छ भन्ने मलाई लाग्छ ।

अन्त्यमा ?

अन्त्यमा भन्नुपर्ने खासै केही छैन । तर, यो हामी सवै मकवानपुरबासीको कार्यक्रम हो । त्यसैले सवैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन अनुरोध गर्दछौं । साथै महाधिवेशनमा पाल्नुहुने सम्पूर्ण शुभेच्छुक, प्रतिनिधि तथा पाहुनालाई सभ्य र धैर्य भएर कार्यक्रमलाई सफल बनाउनु सहयोग गर्नुहुन अनुरोध गर्दछु ।