२०८१ बैशाख २८, शुक्रबार    

राष्ट्रियसभा निर्वाचन: सत्तारुढ गठबन्धन सहजै विजयी

२०७८ माघ १२, बुधबार १७:२३ बजे

हेटौंडा/ राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धनले सहजै जित हात पारेको छ ।

हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि निर्वाचन भएको थियो । निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा (एस)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात २०८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात २१०६ मतभार प्राप्त गरेका थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात २७३६ मतभार गरी कुल ४८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गरे ।

नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार प्राप्त गरिन् । उनले कुल ४३६२ मतभार प्राप्त गरेकी थिइन् । एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात २०८८ मतभार प्राप्त गरे । उनले प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गरेका थिए ।

नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार प्राप्त गरिन् । काफ्लेले कुल ८४ मतभार प्राप्त गरिन् । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार प्राप्त गरेका थिए । उनले कुल ८४ मत भार प्राप्त गरे ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए । राष्ट्रियसभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेको थियो । प्रदेशसभाको १०९ मतमध्ये १०६ मत खसेको थियो । स्थानीय तर्फ शतप्रतिशत अर्थात २३७ मत नै खसेको थियो भने दुई मत बदर भएको थियो । यस निर्वाचनमा स्थानीय तर्फ १ मतको मतभार १८ र प्रदेशतर्फ १ मतको मतभार ४८ रहने व्यवस्था छ ।

मतदान प्रक्रियामा विवेकशील साझा पार्टीले भने सहभागिता जनाएन । विवेकशीलको प्रदेशतर्फ तीन मत रहेको थियो ।