२०८१ बैशाख १४, शुक्रबार    

कांग्रेस संसदीय दलको नेता छान्न प्रदेशमा निर्वाचन हुने

२०७९ पौष ५, मंगलबार १७:३० बजे

नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दल नेता छनौटको लागि निर्वाचन हुने भएको छ ।

कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । उक्त बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचन पछि मात्र प्रदेशको निर्वाचनको प्रक्रिया सरु गर्ने र मिति तय गर्ने निर्णय गरेको नेपाली कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

‘बागमती प्रदेश संसदीय दलको नेता छनौटका विषयमा छलफलका लागि आज कार्य सम्पादन ससिमतिको बैठक बसेको थियो । उक्त बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको छ ।’ उनले भने, ‘बैठकले निर्वाचनको मिति भने केन्द्रीय संसदीय दलको नेताको भोलि हुने निर्वाचन पछि तोक्ने निर्णय गरेको छ ।’ बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति समेत गठन गरेको छ । उक्त समितिले दलको नेता चयनका लागि आवश्यक प्रक्रिया संचालन गर्ने उनले बताए । उक्त समितिले आजै देखि आफ्नो जिम्मेवारीमा रहेर निर्वाचनको प्रक्रिया सुरु गर्ने उनको भनाई छ ।

बैठकले कांग्रेस बागमती प्रदेश समितिका उपसभापति समेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा ४ जना सदस्य रहेका छन् । समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सानु श्रेष्ठ रहेका छन् । समितिले प्रधानमन्त्री शेरबहादुर देउवासंगको समन्वयमा संसदीय दलको नेता चयनका लागि निर्वाचन गराउने उनले बताए ।