२०८१ बैशाख २८, शुक्रबार    

राष्ट्रियसभा निर्वाचन : ६ जना चुनावी मैदानमा

२०७८ माघ ११, मंगलबार १४:५८ बजे

हेटौंडा/ राष्ट्रियसभा सदस्यअन्तर्गत् वाग्मती प्रदेशतर्फ खाली रहेको दुइ सिटमा हुने निर्वाचनमा  बुधबार मतदान हुँदैछ । राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् ।

सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेका छन् । मतदातामा प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ तथा १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । जसअनुसार वाग्मतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

प्रदेश निर्वाचन अधिकारी तथा सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलका अनुसार दुईवटा मतदान केन्द्र निर्माण गरिने भएको छ । मतदान केन्द्रमा दुइ मतदान अधिकृतसहित ८–८ जना गरी १६ जना कर्मचारी खटाइने भएको छ । मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक/फरक रहेको छ । कोभिड–१९ महामारीको कारणले गर्दा स्वास्थ्य सुरक्षामा केही चुनौती देखिएपनि यसको व्यवस्थापन र सुरक्षित साथ गरिने बताइएको छ । मतदान गर्न आउने मतदाताहरुले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने, कोरोना संक्रमित भए वा लक्षण देखिएका मतदातालाई छुट्टै व्यवस्थापन गरिने र यसका लागि जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हेल्पडेस्कसहित २ जना स्वास्थ्यकर्मी खटाइने भएको छ ।